राजनीति

नेता युवराज कार्कीले छाडे जसपा

जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारी सदस्य युवराज कार्कीले जसपा छाडेको घोषणा गरेका छन्। पार्टी पद्दतीमा नचलेको र नेतृत्वले सवृसत्तावाद प्रवृत्ति देखाएको आरोप लगाउँदै कार्कीले जसपा छाडेको घोषणा गरेका हुन्।  

कार्कीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जनता समाजवादी पार्टीको नेतृत्वले पार्टीलाई पद्दतिमा नचलाएकाले पार्टीमा रहिरहन सक्ने अवस्था नरहेको स्पष्ट पारे। कार्कीले आफू दश वर्ष भन्दा बढी पार्टीमा सक्रिए रहेको र अब, पार्टी परित्याग गरेर स्वतन्त्र अभियानमा लाग्ने बताएका छन्। 

कार्कीले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिसभा सदस्यमा जसपाबाट उमेदवार दाबी गर्दै आएका थिए। तर, गठबन्धनका कारण मोरङ क्षेत्र नम्बर २ कांग्रेसले पाउने निश्चित भइसकेको र कार्कीको नाम समानुपातिक सुचीमा पनि नपरेपछि कार्कीले पार्टी नै छाड्ने घोषणा गरेको स्रोतले जनाएको छ। 

तर, कार्कीले टिकट नपाएर आफूले पार्टी नछाडेको दाबी गरेका छन्। उनले भने‘टिकट नपाएर पार्टी छाडेको नभई पार्टी नेतृत्वले पद्धतिमा पार्टीलाई सञ्चालन नगरेका कारण पार्टी छाडेको हुँ।’

प्रकाशित: १२ आश्विन २०७९ १२:५६ बुधबार

जनता समाजवादी पार्टी