राजनीति

नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भयोः अध्यक्ष भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताउँदै नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए।

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए। साेही क्रममा उनले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताए।

उनले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने बताए। अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताए।

उनले भने, ‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ। कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान, विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आफ्नो आफ्नो प्रकारका सबैखाले, हिन्दु, मुस्लिम, क्रिश्चियनका, आदिवासी जनजातीहरुका सबैका आफ्ना आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो। किनभने यो विज्ञान गतिका नियमहरु थहा थिएन। जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए। अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ। पहिला त स्वभाविक थिए। अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ। एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ। त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन्।’

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरे। उनले सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे। उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए।

प्रकाशित: १२ आश्विन २०७९ ११:१७ बुधबार

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई