राजनीति

संघमा टिकट पाउनुपर्ने बैतडी काँग्रेसको अडान, नपाए मित्रवत प्रतिस्पर्धा गर्ने

नेपाली काँग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट काँग्रेसलाई दिनुपर्ने अडान दोर्‍याएको छ। सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट काँग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरुका तर्फबाट काँग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको काँग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

संघमा काँग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए। यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

महिला, खसआर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो। बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागीता रहेको थियो। गठबन्धन दलहरुबीच कसले टिकट पाउने भन्ने निर्णय नभइसकेको अवस्थामा बैतडी काँग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

प्रकाशित: १० आश्विन २०७९ १४:१२ सोमबार

नेपाली काँग्रेस बैतडी प्रतिनिधिसभा