राजनीति

बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै होइन: प्रचण्ड

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभई धेरै लामो हुने बताएका छन्।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताएका हुन्। आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब मुलुकका फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पारे।

उनले  मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे।  

उनले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढ्ने संकल्प लिएको पनि पटकपटक दोहोर्‍याए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गरे।

प्रकाशित: ८ आश्विन २०७९ ०८:४६ शनिबार

पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र)