राजनीति

काँग्रेसले कैलाली क्षेत्र नं. १ मा थारु हेभिवेट अघि सार्ने

नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं. १ बाट थारु नेतालाई उम्मेदवार बनाउने भएको छ।  काँग्रेसले पूर्वमन्त्री रामजनम चौधरी र सभासद बुद्धिसागर चौधरी मध्ये एकजनालाई अघि सार्ने भएको छ। चौधरीद्वय थारु समुदायबाट काँग्रेसका हेभिवेट उम्मेदवार हुन्।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रामजनम चौधरी २८ वर्षको उमेरमा २०४८ सालमा साँसद भएका थिए। उनी कैलालीको तत्कालिन क्षेत्र नं. २ बाट विजयी भएका थिए।त्यतिबेला कैलाली जिल्लामा तीन क्षेत्र थिए। त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातितर्फबाट पटकपटक साँसद भए। उनी २०५४ मा सामान्य प्रशासन सहायकमन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्यमन्त्री समेत भए।  

उनी विजय गच्छदार सँगै काँग्रेस छोडेर नेपाल लोकतान्त्रिक फोरममा गएका थिए। उनी गच्छदारसँगै पुनःकाँग्रेसमै फर्किएका हुन्। उनी काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रिय सदस्यमा विजयी भएका थिए।

उनले आफ्नो दावी स्वभाविक रहेको बताए। उनले विगत लामो समयदेखी राजनीतिका माध्यमबाट जनताको सेवामा समर्पित रहेकाले आफूले टिकट पाउनुपर्ने बताए। उनले अरुले टिकट पाए पनि सक्दो सहयोग गर्ने बताए। ‘मैले पाउनुपर्छ। म उम्मेदवारका लागि योग्य व्यक्ति हुँ’ उनले भने ‘तर मैले नपाए पनि केही छैन। पार्टीको उम्मेदवारलाई जिताउन लाग्छु।’

२०७० मा समानुपातिकबाट संविधान सभा सदस्य रहेका बुद्धिसागर चौधरी थारु समुदायमा परिचित एक अर्को नाम हो। उनी २०४० सालदेखी काँग्रेसको राजनीतिमा सकृय छन्। उनी भद्र व्यक्तिका रुपमा चिनिन्छन्।  

उनी पार्टीले आफूलाई अघि सार्नेमा ढुक्क छन्। उनले विगत लामो समयदेखी पार्टीको इमान्दार कार्यकर्ता भएर काम गरेका कारण आफ्नो मुल्यांकन हुने बताए। ‘म टिकट पाउनेमा ढुक्क छु’,उनले भने ‘मेरो इमान्दारिताको कदर हुनेछ।’

उनले पार्टीले विश्वास गरे आफ्नो जीत सुनिश्चित रहेको दावी गरे। उनले थारु र पहाडी समुदायबीचको सेतुका रुपमा काम गरेका कारण सबैले विश्वास गर्ने बताए। उनले संविधान सभा सदस्यका रुपमा रहेका बेला यस क्षेत्रको विकास निर्माणका साथै सबै समुदायबीचको सुमधुर सम्बन्धमा आफूले महत्वपूर्ण भूमिका खेलेको बताए।  

‘मेरो एजेण्डा विकास र समुदायबीचको सुमधुर सम्बन्ध स्थापित गर्नु हो’,उनले भने ‘मैले विगतदेखी नै यस क्षेत्रमा काम गरेको हुँ। आगामी दिनमा समेत काम गर्छु।’

क्षेत्रीय कार्य समितिले उनीहरु दुवैजनाको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ। उनीहरुसँगै नृपबहादुर खड्का र टेकेन्द्र धामीको नाम समेत सिफारिस भएको छ। तर पार्टीले थारु समुदायबाटै उम्मेदवार बनाउने भएकाले खड्का र धामीको सम्भावना न्यून रहेको स्रोतले बतायो।  

क्षेत्रीय सभापति प्रकाश शाह समेत पार्टीले थारु समुदायबाटै उम्मेदवार अघि सार्ने कुरामा गृहकार्य भइरहेको बताए। उनले दुई जनामध्ये एकलाई पार्टीले अघि सार्ने बताए।  

स्रोतका अनुसार टिकट पाउनेमा पूर्वमन्त्री चौधरीको सम्भावना बढी देखिएको छ।उनी संस्थापन पक्षसँग नजिक छन्। गच्छदारले समेत उनलाई नै अघि सार्न पार्टी नेतृत्वलाई दबाब दिएका छन्।  

जसले टिकट पाए पनि नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निलम्वित साँसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसँग प्रतिस्पर्धा हुने देखिन्छ। सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठ बलियो उम्मेदवारका रुपमा मानिन्छन्।  

स्थानीय तह निर्वाचनमा सो पार्टीले कैलालीको पूर्वी भेगका चार पालिकामा जितेपछि श्रेष्ठलाई बलियो उम्मेदवारका रुपमा विश्लेषण गर्न थालिएको हो। उनले स्थानीयतहको निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। यी चारवटै पालिका क्षेत्र नं. १ मा पर्छन्।  

थारु समुदायको हक अधिकारको मुद्दा अघि सारेर स्थापना भएको नागरिक उन्मुक्तिले स्थानीय तहको निर्वाचनमा थारु समुदायको अधिकांश भोट आफ्नो पक्षमा पारेको देखिन्छ। जसका कारण काँग्रेस मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायकै हेभिवेट उम्मेदवार अघि सार्न चाहन्छ।  

पार्टीले काँग्रेसको सैद्धान्तिक भोटमा थारु समुदायको केहीभोट समेत जोड्न सके जित्न सकिने आँकलन गरेको छ। तर नागरिक उन्मुक्तिसँग प्रतिस्पर्धा गर्न ठूला दलका उम्मेदवारलाई निकै कठिनाई हुने आमनेता कार्यकर्ताहरुको बुझाई छ।

प्रकाशित: ८ आश्विन २०७९ ०७:५५ शनिबार

नेपाली कांग्रेस