राजनीति

नागरिकताको विषयलाई गठबन्धन र एमालेले राजनीति गरेः सिपी गजुरेल

चार कम्युनिष्ट दलले निर्वाचनमा भाग नलिने

विभिन्न चार कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आगामी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपाल रहेकाे जानाकारी गराइएकाे हाे।

उनीहरुले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए। पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको विरोध गर्नेहरुले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए।

उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे। उनले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखे। उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने बताए।

उनले नागरिकताको विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताए। उनले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुविकरणको सम्भावना रहेको बताए। उनले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताए।

प्रकाशित: ६ आश्विन २०७९ १२:४० बिहीबार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपाल देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेल