राजनीति

पाँच वर्षका संसद् बैठक कति प्रभावकारी

प्रतिनिधिसभाको कार्यकालभर कुल ३ सय ६२ वटा बैठक बस्दा १ सय २ वटा विधेयक पारित भएका छन्। तुलनात्मक रूपमा यो विधेयक पारित संख्यालाई राम्रो मानिए पनि पहिलो कार्यकालदेखि १२ औं अधिवेशनसम्म आइपुग्दा संसद्ले धेरै काम गर्न सकेको छैन। संसद्लाई सरकारले प्रत्यक्ष छायामा पारेको देखिन्छ।  

‘संसदीय समितिले पनि महत्वपूर्ण विषयमा काम गर्न सकेको देखिँदैन। समितिमा नै धेरै विधेयक अलपत्र परेका हुन्,’ प्रतिनिधिसभाको एक समितिका सभापतिले बताए। ‘धेरै विधेयक संसद्को सुरुवाती समयमा आएका थिए। तर जब तत्कालीन नेकपा पार्टीभित्र विवाद सृजना भयो, त्यसपछि संसद्मा नयाँ विधेयक दर्ता भएनन्। दर्ता भएका विधेयक धेरै पारित भए पनि नयाँ आवश्यक विधेयक दर्ता भएकाले सरकारले नै संसद्लाई अघि बढाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारीले भने। उनका अनुसार संसद्मा रहेका विधेयकहरू मध्ये १५३ विधेयक दर्ता भएका थिए भने ११ विधेयक फिर्ता भएका थिए। तीमध्ये केही राष्ट्रियसभामा दर्ता भएका पनि करिब तीन दर्जन छन्। बाँकी १ सय २ विधेयक पारित गर्नुलाई नराम्रो भने मान्न मिल्दैन।  

संघीय निजामती विधेयक, मानव अधिकार विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई संसद्ले सहमतिका साथ पारित गर्न सकेन। पछिल्लो अधिवेशनमा मात्रै धेरै विधेयक पारित भएका छन्। प्रथम अधिवेशन २०७४ साल फागुन २१ गते बसेर २०७४ चैत २२ गते अन्त्य भएको हो। यो अधिवेशनमा ११ बैठक बसेका थिए। पहिलो अधिवेशनपछि दोस्रो अधिवेशनमा २३ विधेयक पारित भएका थिए। पछिल्लो अधिवेशनमा ३० वटा विधेयक पारित भएका थिए। पहिलो अधिवेशन २०७४ फागुन २१ मा सुरु भई २०७४ चैत २२ गते अन्त्य भयो। कुल ११ बैठक बसेको यो अधिवेशनमा कुनै पनि विधेयक पारित भएनन्। २०७५ वैशाख २३ गते सुरु भई २०७५ असोज ११ गते सकिएको दोस्रो अधिवेशनमा ७९ बैठक बसे।

दोस्रो अधिवेशनमा २३ विधेयक पारित भए। तेस्रो अधिवेशन २०७५ पुस १५ मा सुरु भएर २०७५ चैत १० मा ४६ बैठक बसेर सकियो। तेस्रो अधिवेशनमा १४ विधेयक पारित भए। चौथो अधिवेशन २०७६ वैशाख १६ मा सुरु भई २०७६ असोज २ गतेसम्म ६५ बैठक भए। चौथो अधिवेशनमा १८ विधेयक पारित भए। पाँचौं अधिवेशन २०७६ पुस ४ मा सुरु भई २०७६ चैत २४ गते २४ बैठक बसेर सकियो।

कोरोना भाइसरका कारण ‘लकडाउन’ सुरु भएको पाँचांै अधिवेशनमा चारवटा मात्रै विधेयक पारित भए। २०७७ वैशाख २६ गते सुरु भएर २०७७ असार १८ गते सकिएको छैटौं अधिवेशनले २६ बैठक बसेर १० वटा विधेयक पारित गर्‍यो। २०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधिसभाको विघटन भएको थियो।

२०७८ जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन भयो। २०७८ असार २८ गते दोस्रोपटक पनि प्रतिनिधिसभा पुनस्र्थापित भएपछि आठौं अधिवेशन २०७८ साउन ३ गते सुरु भएर साउन ३२ गतेसम्म १० बैठक बसेर सकियो।

आठौं अधिवेशनमा पनि कुनै विधेयक पारित भएनन्। २०७८ भदौ २३ गते नवौं अधिवेशन सुरु भयो। कात्तिक १२ गतेसम्म १३ बैठक बसेर सकिएको यो अधिवेशनभर विपक्षी दल एमालेले नौं महिनासम्म संसद् बैठक अवरुद्ध गर्‍यो। जसबाट विधेयक पारित गर्ने काममा अवरुद्ध भएको थियो।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि २०७९ जेठ ३ गते सुरु भएर २०७९ असोज १ गतेसम्म चलेको ११ औं अधिवेशनमा कुल ६८ बैठक बसे। यस अधिवेशनमा ३० वटा विधेयक पारित भए भने जरुरी सार्वजनिक महत्वका प्रस्तावहरूमाथि छलफल भयो।

प्रकाशित: ५ आश्विन २०७९ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App