राजनीति

मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने

सिन्धुलीको मरिण गाँउपालिका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)।

सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्राहरुलाई नगद एक लाख दिने भएको छ।  छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उर्तीण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।  

‘हाम्रो पालिकामा तल्लो कक्षाहरुमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उनले भने ‘त्यसैले विवाह गर्नु अगावै स्नातक तह उतीर्ण गर्ने छात्राहरुलाई(केटी) हामीले नगद एक लाख दिने कार्यक्रम राखेका छौं।’  उनले छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न थप उर्जा पुगोस् भनेर एकलाख दिने निर्णय भएको बताए। गाउँपालिकामा उच्च शिक्षा हासिल गर्ने छात्राहरुको संख्या न्यून रहेको र बाल अवस्थामै विवाह गर्ने दर बढेपछि विवाह पूर्व नै स्नातक तह उतीर्ण गर्ने प्रत्येक छात्राहरुलाई नगद एकलाख दिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए। ‘स्नातक तह उतीर्ण गरेपछि कुनै व्यवसाय गर्छु भन्दा पनि सर्पोर्ट हुने र थप उच्च शिक्षा हासिल गर्छु भन्दा पनि छात्राहरुलाई सहयोग पुग्ने भएकाले यो कार्यक्रम राखेका हौं’, उनले भने, ‘यही मरिण गाउँपालिकाकै स्थानीय छात्रालाई यो सुविधा उपलब्ध गराउनेछौं।’ त्यस्तै मरिण गाउँपालिकाले एसईई उतीर्ण गरी कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्राहरुलाई साइकल दिने निर्णय समेत गरेको छ। ‘एसईई दिएपछि यहाँ धेरै बालबालिकाले बाल विवाह गर्ने र उच्च शिक्षा हासिल नगर्ने समस्या विकराल भएकाले कक्षा ११ मा भर्ना हुने प्रत्येक छात्रा विद्यार्थीलाई साइकल दिने गाउँपालिकाको कार्यक्रम छ’, गाउँपालिका अध्यक्ष मोक्तानले भने, ‘त्यो चाडै कार्यन्वयनमा आउछ।’  

गाउँपालिकाले शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको समेत चौमासिक बैठक बोलाई गाउँपालिकाको निती तथा कार्यक्रम उपलब्ध गराएर दैनिक विद्यालयको अनुगमन नियमन गर्नुपर्ने व्यवस्था गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालयको समस्या गाउँपालिकामा ल्याउने र समाधानमा गाँउपालिका लाग्ने निती कार्यक्रम रहेको बताए। यस्तै विद्यालय व्यवस्थापन समितिले शिक्षकले पढाएको चित्त बुझ्दो नभए वा सरुवा गर्नुपर्ने देखिए व्यवस्थापन समितिकै सिफारिस अनुसार गाँउपालिकाले एक हप्ताभित्र शिक्षक सरुवा गर्न सक्ने गरि व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ। 

यस्तै शिक्षकले शिक्षणमा लापरवाही गरे विभागीय कारवाहीका लागि समेत व्यवस्थापन समितिले सिफारिस गर्न सक्ने र सो सिफारिसलाई गाउँपालिकाले जस्ताको तस्तै लागु गर्ने निर्णय भएको छ। गाउँपालिकाभर एकसाथ ४८ ओटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नियुक्ति गरिएको जानकारी दिँदै गाउँपालिका अध्यक्ष मोक्तानले व्यवस्थापन समितिका अध्यक्षहरुलाई चौमासिक बैठक गरिने जानकारी दिए। मरिण गाँउपालिकाले जिल्लामै पहिलोपटक एकसाथ विद्यालय व्यवस्थापन समिति चयन गरेको हो। विद्यालयहरुमा शिक्षा सुधारका लागि बजेट अनुदान दिने व्यवस्था रहेपनि अनुदानको अनुगमन गर्न नसक्दा प्रभावकारिता नदेखिएकाले चालु आर्थिक वर्षबाट गाउँपालिकाले अनुगमन गर्ने व्यवस्था मिलाउने तयारी भएको गाँउपालिकाले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७९ १३:०३ आइतबार

सिन्धुलीको मरिण गाँउपालिका