राजनीति

काँग्रेस पूर्वसभापति बस्नेतले उदयपुर १ नछाड्ने

नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति बिदुर बस्नेतले उदयपुर निर्वाचन क्षेत्र १ बाट सुंघमा प्रत्यक्षतर्फ उम्मेदवार हुने स्पष्ट पारेका छन्।

निवर्तमान सभापति बस्नेतले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो नाम संघीय चुनावका लागि प्रत्यक्षतर्फ सिफारिससमेत भइसकेको भन्दै संघबाहेक अन्यमा उम्मेदवार नबने अडान दोहोर्‍याएका छन्। संघीय चुनावका लागि प्रत्यक्षतर्फ नाम सिफारिस गरिसकेको र चुनाव लड्ने तयारीमा रहेको भन्दै टिकटको पर्खाइमा मात्र रहेको बस्नेतको विज्ञप्तिमा उल्लेख छ।

यसरी आफू तयारी हालतमा पुगिसकेको बेला माथिल्लोस्तरका केही नेताहरुले आफूलाई समानुपातिक वा राष्ट्रिय सभामा उम्मेदवार बनाउने आसयको हल्ला फैलाइएको भन्दै बस्नेतले त्यस्तो हल्लाको पछि नलाग्न विज्ञप्तिमार्फत् अपिल गरेका छन्। ‘म १ नं. निर्वाचन क्षेत्रबाटै प्रत्यक्षतर्फ उम्मेदवार बन्ने हो’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ‘तर, मेराबारे अनपेक्षित रुपमा राष्ट्रियसभा र समानुपातिकतर्फ उम्मेदवार बन्ने भन्ने हल्ला चलाइएको छ, त्यो सरासर गलत र भ्रामक हो।’

पूर्वसभापति बस्नेतले गएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु डा. नारायण खड्का र नारायण कार्कीले आफूलाई त्यसबेला नै उदयपुर १ बाट संघतर्फ प्रतयक्षमा उठाउने सहमति भएको स्मरण पनि गराएका छन्। आफूले सोही सहमति अनुसार पनि चुनावको तयारी गरिरहेको विज्ञप्तिमा खुलाएका छन्। पार्टीले बस्नेतसहित ४ जानाको नाम १ न. बाट प्रत्यक्षमा सिफारिस गरेको छ।

सो क्षेत्रबाट बस्नेतसहित डा. खड्का, हालका समानुपातिक सांसदद्वय लक्ष्मी परियार र प्रमिला राईको नाम पार्टीले सिफारिस गरेको छ। उदयपुर १ हालका परराष्ट्रमन्त्री डा. खड्काले विगत ३ वटा निर्वाचनदेखि लगातार जित्दै आएको ‘ह्याट्रिक’ क्षेत्र हो। यस पटक पनि डा. खड्का आफैं लड्ने गरी तयारी गरिरहेको कार्यकर्ताहरु बताउँछन्। संस्थापनइतर पक्ष मानिएका बस्नेतले भने यो पटक कुनै हालतमा डा. खड्कालाई नछाड्ने अडान लिएको बताइएको छ।

काँग्रेस जिल्ला पूर्वसचिव मदनराज कटुवालका अनुसार बस्नेतको विषयमा बढी भ्रम फैलाइएको पाएर बस्नेतले विज्ञप्ति प्रकाशित गरी वास्तविक कुरा सार्वजनिक गरेका हुन्। ‘पूर्वसभापतिको विषयमा अलि अनावश्यक र असान्दर्भिक हल्ला भयो भन्ने रहेछ’ कटुवालले भने ‘त्यसैले वास्तविक्ता बाहिर ल्याउन पनि विज्ञप्ति प्रकाशित गर्नु भएको होला।’ पार्टीले जसलाई टिकट दिए पनि सबै मिलेर चुनाव जित्नेगरी सबै काँग्रेसजन लाग्ने पनि कटुवालले बताए।

काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाबीचको गठबन्धनबाट चुनाव लड्ने भएकाले चुनाव जित्ने सम्भावना भएकाले पनि नेताहरुबीच तँछाड मछाड भएको हो। गठबन्धनबीचको केन्द्रीय सहमति अनुसार जुन दलले जितेको हो, उसैलाई छाड्ने भएकाले निर्वाचन क्षेत्र १ मा काँग्रेसकै हक लाग्ने छ। त्यसो भएकाले १ नं. मा डा. खड्का, बस्नेत या राई र परियार जसले टिकट पाए पनि गठबन्धनका अन्य दलले दावी छाड्नुपर्ने केन्द्रीय सहमति भएको छ।

उता ०७४ को चुनावमा माओवादीले जितेको २ नं. निर्वाचन क्षेत्र पनि माओवादीकै भागमा पर्ने टुंगो लागेको छ। तर, एसका प्रवक्ता जगन्नाथ खतिवडाले पनि दाबी गरिहेको र जिल्ला पार्टीले उनकै नाम सिफारिस गरेको जनाइएको छ। सो क्षेत्रबाट निर्वाचित माओवादीका पोलिटव्यूरो सदस्य सुरेशकुमार राई चुनाव लड्ने तयारीमा रहेका छन्। पार्टीले उनीसहित संविधानसभा सदस्यद्वय मोहन खत्री, भेषकुमारी राउत र नारायण बुर्जामगरको नाम पनि सिफारिस गरेको छ।

काँग्रेस पूर्वसभापति बस्नेतले जारी गरेको विज्ञप्ति। 

प्रकाशित: ३१ भाद्र २०७९ १२:५७ शुक्रबार

नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति बिदुर बस्नेत