महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ। सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो।
१७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मिनबहादुर विश्वकर्माले बताए। शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए। उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताए।
उनले भने, ‘अहिले आएर सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिन भन्नुभयो। पहिला अन्तिममा गर्छु भन्नुभएको थियो। यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो। केही माननीय सदस्यहरुले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो। उहाँले भनेका सबै कुराहरु हुन्। सबै ठिक छ भन्नुभएको छ,अहिले पढ्दै जाँदा त।’
सदस्य विश्वकर्माले कसैको उक्सावटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशंका व्यक्त गरे।
प्रकाशित: ३१ भाद्र २०७९ ११:३० शुक्रबार