राजनीति

प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै एमालेले गर्‍यो सांसदलाई बिदाइ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ गरेको छ।

एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गरेको हो। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए। त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे।

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई बहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित: ३१ भाद्र २०७९ १०:१९ शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) प्रतिनिधि सभाका सांसद नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराई नेता केपी शर्मा ओली