राजनीति

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायोः प्रकाशमान सिंह

फाइल तस्बिर।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन नेकपा सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए।  

नेता सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको पनि बताए। उनले बागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाए। काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनले बताए।

कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरुले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे। उनीहरुले वर्षमा एकपटक मात्रै सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु भनेको औपचारिकता जस्तो भएको गुनासो गरे। उनीहरुले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे।

प्रकाशित: ३० भाद्र २०७९ ०७:१४ बिहीबार

नेता प्रकाशमान सिंह