राजनीति

बारामा दुई गुटको विवाद बढ्दै, एकले अर्को पक्षको नेतालाई निलम्बन गर्ने होडबाजी

नेपाली काँग्रेस बारामा दुई गुटको विवाद अहिले बढ्दै गएर एक पक्षले अर्को पक्षको नेता कार्यकर्तालाई निलम्बन गर्ने होडबाजी चलेको छ।

दुई दिन पहिला मात्रै सह-महामन्त्री फरमुल्लाह मंसुर नजिक रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई अर्का सह-महमन्त्री उमाकान्त चौधरी समूहले निलम्बन गरेको पत्र सार्वजनिक गरेका थिए।

बुढाथोकीलाई निलम्बन गरेको पत्र सार्वजनिक गरिएपछि भर्दाै २८ गते सह-महमन्त्री मंसुर पक्षले अर्का केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव र निर्वाचन  क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेशप्रसाद यादव गरी तीन जनालाई निलम्बनमा परेको पत्र सार्वजनिक गरिएको छ।

गएको स्थानीय तहको निर्वाचनमा बुढाथोकीले निजगढका नगर प्रमुखका उम्मेदवार सुरेशकुमार खनाललाई अन्तरघाट गरेर पराजित गराएको आरोप लगाउँदै जिल्ला अनुशासन समितिको निर्णयले कारबाही गरिएको अनुशासन समितिको संयोजक बिनोद मणी महतोद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी अरूणकुमार यादव संयोजकत्वमा रहेको अनुशासन समितिले स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सह-महामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्व  केन्द्रीय सदस्य तथा सभासद राधेचन्द्र यादव र क्षेत्रीय सभापति रामप्रवेश यादवलाई निलम्बन गरेको छ।

जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरी निलम्बन गरिएको नेपाली काँग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताएका छन्। नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए।

संयोजक यादवको अनुसार मन्त्री चौधरीले नेपाली काँग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत दिलाउन लगाएको, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको बताए।

यसअघि पनि मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका थिए। मन्त्री चौधरीले जिल्ला पार्टी सभापति राजेश राय यादवलाई हाथमा लिएर आफू खुशी उम्मेदवारको नाम सिफारिस गराएका छन् भने पूर्वमन्त्री समेत रहेका मंसुरले उप सभापति मनोज भट्ट, सचिवद्धय भैयाराम यादव, राजेश रौनियारलाई हाथमा लिएर उम्मेदवारहरुको अर्को नाम सिफारिस गराएका बताइएको छ।

खानेपानी मन्त्री एवम् बारा क्षेत्र नं. १ का सांसद समेत रहेका चौधरी पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सभापति यादवले हस्तारक्षर गरेका छन् भने मंसुर पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सचिवद्धय भैयाराम यादव र राजेश रौनियारले हस्तारक्षर गरेका छन्।

प्रकाशित: २९ भाद्र २०७९ ०९:४३ बुधबार

नेपाली कांग्रेस बारा जिल्ला अनुशासन समिति