राजनीति

नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन्।

सोमबार काठमाडौँमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरुलाई पुरस्कार वितरण गर्दै राष्ट्रपति भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताइन्।

उनले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताइन्। नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘नेपाली भूमी ज्ञान भूमि हो। यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ। यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ। नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ। नेपाली सिर्जनाहरु पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नुपर्छ। साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरुलाई सम्मान गर्न पाउँदा आज गौरवभुत भइरहेको छ। कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्छ भने नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्नेछ।’

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: २७ भाद्र २०७९ ०८:५६ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय कविता महोत्सव २०७९