राजनीति

कांग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

फाइल तस्बिर

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताए।  शुक्रवार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए। उनले  विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए। उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए। उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने बताए। उनले आगामी निर्वाचनको घोषणापत्रमा सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए ।

उनले भने, ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ। यसको रुपान्तरण गर्न जरुरी छ। रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन। समय लाग्छ। ७० वर्षदेखि एउटा धारामा बगेको दल छ। अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ। ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ।

वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ। एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ। काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरुलाई पनि समीक्षा गर्नुपर्छ। नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ। निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ।’ 

महामन्त्री शर्माले नेपाली काँग्रेस उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा स्थापित गर्न अग्रसर हुने बताए। उनले  नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात घोषणा गरे।

उनले भने  ‘नेपाली काँग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरु जे भएपनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन।

भएका कमजोरीलाई जनताको बीचमा आत्मालोचना गरेर, कमीकमजोरी नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरी, मुलकको सही नेतृत्व गरेर मुलुकलाई गति दिन्छौँ। नेपाली काँग्रेस पार्टीले २१ औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात गर्दैछ। आज मानिसहरुको बीचमा आशंका छ। कतै नेपाल श्रीलंका हुने त होइन भन्ने आशंका छ। तर यो भ्रमपूर्ण प्रचार हो। अहिले नेपालको अवस्था त्यो छैन। उनीहरुले २५ वर्ष लामो हिंसा व्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्‍यौं । उनीहरुले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्‍यौं।

उनीहरुले ऋणमाति ऋण लिए, हामीले ऋण भन्दा अनुदानमा जोड दियौँ। तर विगतमा बनाएका ठूला प्राजेक्ट शुरु गर्दैगर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमता नपुर्‍याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ।’ 

महामन्त्री शर्माले नेपाल अहिले श्रीलंकाको बाटोमा नरहेको उल्लेख गर्दै श्रीलंकाको बाटोमा छ भन्नु भ्रम बाहेक अरु नभएको जिकिर गरे। उनले नेपाल देशले सामाजिक न्याय शैलीको उदार अर्थ व्यवस्थाको बाटोबाट कसरी जनताको अनुहारमा खुशी ल्याउन सकिन्छ भन्ने कुरामा काँग्रेस अघि बढ्ने बताए।

महामन्त्री शर्माले ठूलो योजना अघि बढाउँदै गर्दा ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन? भन्ने प्रश्न उठ्नसक्ने भन्दै बुद्धिमतापूवएक काम गर्नुपर्ने बेला भएको पनि बताए।

प्रकाशित: २४ भाद्र २०७९ ०६:४१ शुक्रबार

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा