राजनीति

‘दुई दर्जन निर्वाचन क्षेत्रमा कांग्रेस कमजोर’

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करिब दुई दर्जन संघीय निर्वाचन क्षेत्रमा पार्टी संगठन तुलनात्मक रूपमा कमजोर रहेको निस्कर्ष निकालेको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामलाई केन्द्रमा राखेर कांग्रेसले प्रतिनिधिसभाका दुई दर्जन निर्वाचन क्षेत्रमा पार्टी संगठन कमजोर रहेको निष्कर्ष निकालेको हो।  

ती क्षेत्रमा गठबन्धनको जोडबलमा पनि परिणाम कांग्रेसको पक्षमा पार्न कठिन हुनसक्ने भन्दै संगठन सुधार अभियान चलाउन नेतृत्वलाई सुझाव दिइएको छ। तर, नेतृत्वले ती क्षेत्रमा संगठन सुधारका लागि अहिलेसम्म थप अभियान सञ्चालन गरेको छैन। कांग्रेसले कमजोर भनेर निष्कर्ष निकालेका दुई दर्जन क्षेत्रममा पाँचदलीय गठबन्धनसँग चुनावी तालमेल गर्दा पनि अधिकांश क्षेत्र पार्टीकै भागमा पर्ने नेताहरूको बुझाइ छ।  

कांग्रेसले स्थानीय तह निर्वाचनमा ५ हजार बढी मतान्तर रहेका र प्रमुख प्रतिपक्षी एमालेका प्रभावशाली नेताहरू आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने क्षेत्रलाई जोखिमपूर्ण भनेको छ। जसमा कांग्रेसले एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा–५ देखि माओवादी केन्द्रको बाहुल्य रहेको हुम्लासम्मलाई राखेको छ। ओलीले निर्वाचन प्रतिस्पर्धा गर्दै आएका क्षेत्रमा एमालेबाहेक सबै राजनीतिक दल अर्कोतिर उभिँदा पनि गठबन्धन कमजोर देखिन्छ।  

त्यस्तै सिन्धुली–२, चितवन–२, अर्घाखाँची, दाङ–१, दाङ–३, दाचुर्ला, दोलखा, धनकुटा, धादिङ–१, बझाङ, प्युठान र पर्वत, पाल्पा–१ मा एमाले संगठन बलियो रहेको कांग्रेस बुझाइ छ। प्युठानमा राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाको सिट दाबी गर्दै आएको छ। यी सबै क्षेत्रमा एमालेभन्दा कांग्रेस संगठन तुलनात्मक रूपमा कमजोर रहेको विश्लेषण छ। आफ्नो आधार क्षेत्र बताउँदै आएको माओवादीले कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, हुम्ला, डोल्पामा पनि कांग्रेस संगठन कमजोर छ। त्यहाँ माओवादी भन्दा आफ्नो अवस्था निकै कमजोर रहेको विश्लेषण कांग्रेसले गरेको छ।  

चुनावी तालमेल गरेर जाने तयारी गठबन्धनका दलहरूले गरिरहेका बेला ती दुवै क्षेत्र माओवादीले दाबी गर्दै आएको छ।  

त्यस्तै, महोत्तरी–३ मा कांग्रेसको अवस्था जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एमालेभन्दा पनि पछि रहेको निष्कर्ष निकालिएको छ। पर्सा–१ मा जनता समाजवादी र एमालेपछि मात्र कांग्रेस रहेको विश्लेषण छ। नेपाल मजदुर किसान पार्टीको पकड क्षेत्रका रूपमा चिनिने भक्तपुर–१ मा पनि कांग्रेसले आफ्नो संगठन कमजोर रहेको आकलन गरेको छ। उक्त क्षेत्रमा पार्टी संगठन तेस्रो स्थानमा रहेको कांग्रेसको बुझाइ छ।

प्रकाशित: २२ भाद्र २०७९ ००:५४ बुधबार

नेपाली कांग्रेस