राजनीति

शंकर पोख्रेलको क्षेत्रमा बिरासतको लडाईं

२०७४ को निर्वाचनमा माओवादी र एमाले बीच चुनावी तालमेल हुँदा दाङ २ (क) मा एमाले नेता शंकर पोख्रेल हाबी भए। यही क्षेत्रबाट कांग्रेस भन्दा ठूलो मतान्तरले जित निकालेका पोख्रेल प्रदेशको संस्थापक मुख्यमन्त्री बने। पोख्रेल प्रदेश छोडेर प्रतिनिधिसभा सदस्य बन्ने दौडमा उत्रिइसकेका छन्। एमालेले उनलाई क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने गरी सिफारिस गरिसकेको छ।  

अघिल्लो पटक पोख्रेल निर्वाचित यो क्षेत्रको परिणाम पुनः आफ्नो पोल्टामा पार्ने रणनीतिमा एमाले छ। तर कांग्रेसले भने गत निर्वाचनमा एमालेले बसालेको ‘जग’  भत्काउने दाउमा कांग्रेस छ। फलतः यो क्षेत्रमा हुने निर्वाचन कांग्रेस एमालेको बिरासतको लडाईंका रुपमा रहने छ। एमालेले बसालेको जग भत्काउने रणनीति बमोजिम कांग्रेसका तर्फबाट खगराज पाण्डे बलिया उम्मेदवारका रुपमा अघि सर्न चाहेका छन्।  

यो प्रदेश क्षेत्र घोराही उपमहानगरपालिका रहेको क्षेत्र हो। जहाँ गत स्थानीय तहको निर्वाचनमा एमाले एकल हाबी भइदियो। यो जीतलाई आगामी निर्वाचनमा आफ्नो जीतको आधार देखेको एमालेलाई घोराही उपमहानगरको मत मात्रै जीतका लागि सहज भने बन्दैन। यहि क्षेत्रको बंगलाचुली गाउँपालिकाको जनमत निर्णायक मतका रुपमा रहने छ। फलतः गत स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हाबी भएको यो पालिकाको जगलाई एमालेले भत्काउने रणनीति बनाइरहेको छ।  

तर यसका लागि कांग्रेसका पाण्डे ठूलो बाधक बन्ने देखिन्छ। कारण ‘उनी यसै बंगलाचुली गाउँपालिकाका स्थानीय बासिन्दा हुन्।’ यसै गाउँपालिकालाई आधार बनाएर लामो समय कांग्रेसको राजनीतिमा रहेका पाण्डे बंगलाचुली गाउँपालिकाको मत एमालेलाई खोस्न नदिने बलिया अस्त्र बन्ने लख कांग्रेस बृत्तमा काटिएको छ। ‘एमालेले बंगलाचुलीको मत प्राप्त गर्न सके सहज जीत हुन्छ भन्ने आँकलन गरेको छ,’ पाण्डे भन्छन् ‘तर त्यहाँको मत रोक्नका लागि म सक्षम छु।’ पाण्डे कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री हुन्। यसर्थ पनि उनले यो क्षेत्रमा आफ्नो पकड बलियो बनाउन सक्ने दाबी गर्छन्। ‘मलाई पार्टीले टिकट दिएको खण्डमा सहज जीतको सुनिश्तिता देख्छु,’ उनले भने ‘तर म मात्रै नभइ सिफारिसमा परेका अरु साथीहरु पनि क्षमतावान हुनुहुन्छ, यो क्षेत्रमा जीत कांग्रेसकै हुन्छ।’

यता पार्टीका महासचिवले बाजी मारेको क्षेत्रमा एमाले जसरी पनि विजयी हुन चाहन्छ। यसका लागि उसले बंगलाचुली गाउँपालिकालाई आफ्नो पक्षमा पार्न हरसम्भव प्रयत्न गर्ने छ। एमालेले यो प्रदेश क्षेत्रबाट बलिभद्र रानालाई उम्मेदवारका रुपमा एकल सिफारिस गरेको छ। सम्भवतः रानाले नै एमालेबाट टिकट पाउने छन्।  

त्यसोत, गत निर्वाचनमा एमालेका पोख्रेलसँगै भिडेका कांग्रेसका नेता कमलकिशोर घिमिरे पनि पुनः यो क्षेत्रमै चुनावी मैदानमा उत्रिने योजनामा छन्। कांग्रेसबाट उम्मेदवारका रुपमा उनी पनि सिफारिस भएका छन्। गत निर्वाचनमा पोख्रेलसँग ब्यहोर्नु परेको हारलाई जीतमा परिणत गर्ने लक्षका साथ उम्मेदवार बन्न चाहेका घिमिरेले पनि यो क्षेत्रमा कांग्रेसको सहज जीत देखेका छन्। ‘गत निर्वाचनमा हामी कतै चुक्यौँ र हार्नुपर्ने परिस्थिती बन्यो,’ घिमिरेले भने ‘तर अहिले त्यो अवस्था रहन्न, मजबुत बनेको कांग्रेसले यो क्षेत्रमा सहजै जीत निकाल्छ।’ घिमिरे कांग्रेसका पूर्व जिल्ला सचिव हुन्। पाण्डे, घिमिरेसंगै कांग्रेसका गोपालराज शर्मा लगायत अन्य नेताहरु पनि उम्मेदवारका रुपमा सिफारिस भएका छन्।  

यता एमालेबाट एकल सिफारिसमा परेका बलिभद्र रानाले बंगलाचुलीको मत तान्ने सूत्र आफूसँग रहेकाले आफ्नो जीत सुनिश्चित दाबी गर्छन्। यो पालिकासँग आफ्नो सम्पर्क लामो समय देखि रहँदै आएकाले बंगलाचुलीले आफ्ना लागि नहार्ने दाबी उनको छ। ‘म यस अघि पनि बंगलाचुलीसंग विकास निर्माणका कामहरु मार्फत निरन्तर सम्पर्क रहिरहेको मान्छे हुँ,’ उनले भने ‘यसर्थ पनि त्यहाँका जनताले मेरो सद्भाव, सहयोगलाई बिर्सनु हुन्न, र बिर्सनु हुने छैन।’ राना एमालेको भौतिक पूर्वाधा तथा यातायात विभागका केन्द्रीय सदस्य तथा एमाले प्रदेश सदस्य हुन्।

प्रकाशित: २१ भाद्र २०७९ ०५:२९ मंगलबार

कांग्रेस