राजनीति

रौतहटबाट उम्मेदवारको रुपमा शिक्षकको नाम धमाधम सिफारिस

स्थायी शिक्षकले कुनै राजनैतिक दलको सदस्यता लिन नपाउने माग उठिरहेको बेला मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि रौतहटबाट स्थायी शिक्षकको नाम उम्मेदवारको रुपमा सिफारिस भइरहेको देखिएको छ।

रौतहटबाट दुई शिक्षकको नाम प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भइसकेको छ। नेकपा (एमाले)को क्षेत्रीय समितिले रौतहट क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभाका लागि शिक्षक नागेन्द्र साहको नाम सिफारिस गरेको छ।

यसैगरी जनता समाजवादी पार्टी नेपालले प्रदेश सभाका लागि शिक्षक कामेश्वर राय यादवको नाम रौतहट क्षेत्र नम्बर ३ को (ख) बाट गरेको छ। एक जना सेवा निवृत्त शिक्षक चुल्हाई राय यादवको नाम पनि जसपा नेपालले रौतहट क्षेत्र नम्बर १ बाट गरेको छ।

क्षेत्रीय समितिले नाम सिफारिस गरी पठाएको र जिल्ला तथा केन्द्रीय समितिबाट नाम तय भएपछि मात्र निश्चित हुने भएकोले शिक्षकद्वयको नाम सिफारिस हुनुलाई प्रारम्भिक सिफारिस मात्र मानिएको छ।

यसअघि प्रतिनिधि सभाको समानुपातिकतर्फ शिक्षिका रेखाकुमारी झाको नाम सिफारिश भइ सांसद बनेको दृष्टान्त रौतहटमा रहेको छ। प्रदेशसभा तथा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ अझै केही शिक्षकको नाम सिफारिस हुने सम्भावना रहेको छ।

प्रकाशित: २० भाद्र २०७९ १३:१४ सोमबार

प्रदेश सभा रौतहट