राजनीति

दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन्।  

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए। उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए। उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताए। 

अध्यक्ष नेपालले दलित समुदायमाथि विभेद गर्नु नहुने भनि संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको बताए। त्यस्तै सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उनले महिलाहरुलाई पनि हिंसा बाट मुक्त गराउनुपर्ने बताए। 

उनले भने, ‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ। एउटा दलितमाथि। मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो। विभेदपूर्ण व्यवहार हो। त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ। यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ। हाम्रो संविधानमा लेखिएको छ। कानूनमा लेखिएको छ। हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ। तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो? त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ। सुदूरपश्चिमतिर त अझै महिलाहरुलाई विभिन्न हिसावले अत्याचार गरिन्छ। सुनिन्छ, त्यहाँ छाउपडी प्रथाको नाममा घरमा बस्न दिइदैन। दलितहरुलाई विभिन्न हिसाबले अपमानपूर्ण व्यवहार गरिन्छ। नागरिकताकै प्रशंगमा, मान्छेले आफ्नो नाम लेख्न नपाउने। र ति कस्ता प्रशासकहरु जसले त्यस्ता कुराहरुको बारेमा यो हुँदैन भन्न नसक्ने। त्यस हुनाले हाम्रो सिंगो चिन्तन बदल्ने परिवर्तनको आवश्यकता छ। तपाई हामी हातेमालो गर्दै यो सबै विभेदहरुको, अपमानपूर्ण व्यवहारहरु अन्त्य गर्नैपर्छ। महिलालाई पनि असमानता र विभेद, महिला हिंसाको घटनाबाट पीडित हुनुपर्ने अवस्थाबाट मुक्त गर्नैपर्छ। त्यसैगरी गरिबी र अभावबाट पिल्सिएका समुदायलाई, अल्पसंख्यक समुदायलाई, लोपोउन्मुख जातिहरुलाई कसरी संरक्षण गर्ने यो सबै विषयमा हाम्रो ध्यान जानैपर्छ।’

उनले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए। अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराए।

प्रकाशित: २० भाद्र २०७९ ११:४० सोमबार