राजनीति

डा.शेखर कोइरालाको क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर ६ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ डा  शेखर कोइरालासहित ४ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस मोरङ क्षेत्रनम्बर ६ को बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि  कांग्रेस नेता डा.शेखर कोइराला, नेतृ डिला संग्रौला, रमेशजंङ्ग  रायमाझी र शिबकुमार बस्नेतको नाम सिफारिस गरेको हो।  

डा कोइराला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४ औं महाअधिवेशनमा सभापतिका उमेदवार हुन्। उनि कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। यस्तै डा.डिला संग्रौला प्रतिनिधिसभा सदस्य हुन्। रायमाझी नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेता हुन्। बस्नेत नेपाली कांग्रेस खोटाङका पूर्व सभापति तथा पूर्व राज्य मन्त्रीसमेत हुन्। हाल उनि मोरङको राजनीतिमा सक्रिय छन्।  

डा.शेखर कोइरालको क्षेत्रबाट उमेदवारको सिफारिसमा परेका संग्रौला, रायमाझी र बस्नेत तीनै जना देउवासमूहका नेताहरू हुन्। डा कोइराला यस क्षेत्रबाट यस अघि पनि चार पटक उमेदवार बनिसकेका छन्। उनि दुई पटक विजयी भएका थिए भने दुई पटक पराजित भएका थिए। पछिल्लो निर्वाचनमा एमाले नेता लालबाबु पण्डीतसंग कोइराला पराजित भएका थिए।  

यस्तै समानुपातिक तर्फ निरञ्जनप्रसाद रिजाल, मृदुला कोइराला, रुक्मिणी कोइराला, गोविन्द उराउ, इन्दिरा रिजाल, चुमनारायण तवदार, महेश जाजू, हरिनारायण चौधरी, र देवी डाँगीको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्रनम्बर ६ ले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ ११:३२ आइतबार