राजनीति

नेकपा एसको जिल्ला समिति एमालेमा समाहित

सर्लाहीमा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ। नेकपा एसको सर्लाही जिल्ला समिति नै नेकपा एमालेमा प्रवेश गरेको छ।

सर्लाहीको मलंगवास्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित एक समारोहमा नेकपा एकीकृत समाजवादी सर्लाहीका अधिकांश जिल्लास्तरका नेताहरू नेकपा एमालेमा फर्किएका छन्। एमालेमै फर्किने नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिव गोविन्द अधिकारी, उपसचिव लीलादेवी कोइराला, विश्व लामा, प्रचार विभागप्रमुख तथा हरिवन नगर अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर समिति अध्यक्ष मेनकुमार गौतम, हरिपुर नगर समिति अध्यक्ष चूडामणि धामीलगायत रहेका छन्।

नेकपा एसका जिल्ला समिति उपाध्यक्ष राय र सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला समिति नेकपा एमालेमा समाहित भएको बताइएको छ। नेकपा एमालेबाट विभाजित भएर गत वर्ष बनेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा सर्लाही जिल्लामा खासै सफलता हासिल गर्न सकेको थिएन। राम्रो मत ल्याउन सफल भए पनि राम्रो सफलता प्राप्त हुन नसक्दा निराश बनेका कार्यकर्ता एमालेमै फर्किएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।

नेकपा एसप्रति विभिन्न आरोप लगाउँदै बिनासर्त नेकपा एमालेमा समाहित भएका सर्लाहीका नेता तथा कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज कमला देवी महतो, केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सह इन्चार्ज बद्री न्यौपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह, नागेन्द्र चौधरी, विदुर प्याकुरेल, तुलसी हुमागाईंलगायत नेता तथा कार्यकर्ताले अबिर र खाँदा लगाएर स्वागत गरेका छन्।

प्रकाशित: १८ भाद्र २०७९ ०१:३७ शनिबार

नेकपा एकीकृत समाजवादी