राजनीति

काँग्रेस कैलाली क्षेत्र नं. १ ले गर्‍यो उम्मेदवार सिफारिस

नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्य रामजनम चौधरी लगायत चारजनाको नाम सिफारिस गरेको छ। चौधरीसँगै उम्मेदवार सिफारिस हुनेमा बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामी रहेका छन्।  

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको सभापति प्रकाश शाहले जानकारी दिए। उनले केन्द्रिय सदस्य ईश्वरी न्यौपाने, पूर्वसाँसद गंगाबहादुर कुँवर, गंगादेवी चौधरी, पूर्वराज्यमन्त्री सुशीला स्वाँर, बिरबहादुर हमाल, सूर्यबहादुर रावल, बिर्खबहादुर रावल, रणबहादुर रावल र सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीको सिफारिस भएको बताए।

प्रदेशसभा (क) तर्फ प्रत्यक्षमा चार जनाको नाम सिफारिस भएको छ। जसमा चुनिराम चौधरी, बिरबहादुर हमाल, रामकृष्ण चौधरी र राम रसिले चौधरी रहेका छन्। सोही प्रदेश सभाबाट समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ।  

समानुपातिकतर्फ पूर्वराज्यमन्त्री जनकराज चौधरी, गंगादेवी चौधरी, गीता कठरीया, बिरबहादुर हमाल, भरतबहादुर कडायत, सेवकराम चौधरी, खड्कबहादुर विक, चन्द्रलाल डगौरा, प्रेमलाल चौधरी, बिरुप्रसाद चौधरी, तेजबहादुर बिष्ट र भागीराम चौधरीको नाम सिफारिस भएको छ।  

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ दुईजनाको मात्रै नाम सिफारिस भएको छ। जसमा केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावल र धिजराज रेग्मी रहेका छन। रावल यसअघिको निर्वाचनमा प्रदेश सभा (ख) बाट निर्वाचित भएका थिए।  

सोही प्रदेशबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ। जसमा ललिता सुनार, फकिरसिँह कडायत, केशरीकुमारी रावल बिष्ट, देवेन्द्रसिँह नेपाली, राजेशकुमार टमट्टा, नेत्रबहादुर रावल, चिरञ्जीवी खनाल, बमबहादुर बम, सुदेशनी चौधरी, भरतबहादुर स्वाँर, सुशीला विक टमट्टा, अकबर अली कुरेसी र रोहित जंग खड्काको नाम सिफारिस भएको छ।  

आगामी मंसिर ४ गते संघ र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ। सोही निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको सभापति शाहले जानकारी दिए।  

कैलाली क्षेत्र नं. १ मा २०७४ को निर्वाचनमा रेशमलाल चौधरी अत्याधिक मतले विजयी भएका थिए। उनी टीकापुर घटनाका मुख्य आरोपी हुन्। उनी हाल जेल जीवन बिताईरहेका छन्। उनको क्षेत्रमा अन्य पार्टीलाई जित्न निकै कठिनाई रहेको बताईन्छ।  

उनकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ। यो पार्टी स्थानीय तहको निर्वाचनमा कैलालीको पूर्वी भेगका चार पालिकामा जित पारे पछि बलियो देखिएको हो।

प्रकाशित: १७ भाद्र २०७९ ०८:१४ शुक्रबार

नेपाली काँग्रेस कैलाली