राजनीति

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. १ ले उपसभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको छ। बिहीबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खड्काको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए। ‘पार्टीको केन्द्रीय उपसभापति हुनुका साथै राज्यको कार्यकारी पदमा पुग्ने नेता पाउनु हाम्रा लागि ठूलो गर्भको विषय हो’, प्रदेश सचिव रानाले भने, ‘विकासप्रेमी, जनताको मनमुटुमा बस्न सफल नेतालाई आगामी निर्वाचनमा विजयी गराउने संकल्पका साथ एकल नाम सिफारिस गरेका हौं।’ समानुपातिकतर्फ ज्ञानु भूषाल र नरहरि भट्टराईको नाम सिफारिस गरिएको छ।

उपसभापति खड्कालाई नेपाली कांग्रेस बाँके क्षेत्र नं. ३ ले पनि प्रत्यक्षतर्फ सिफारिस गरेको छ। खड्कासँगै सहमहामन्त्री किशोरसिंह राठौर र देउवा पत्नी आरजु राणा देउवाको नाम पनि सिफारिस गरेको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७९ ०६:१० शुक्रबार

उपसभापति पूर्णबहादुर खड्का पाली कांग्रेस सुर्खेत