राजनीति

उच्च अदालतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।  

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेकोर स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरतरहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप छ।  

पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शिर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको हो। सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरिक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरूसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगबिहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफै सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले जनाएको छ।  

अख्तियारले कटवालविरुद्ध ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो, कैद सजायर बिगोबमोजिम जरिबाना गरी बिगो असुलउपर हुनसमेत मागदाबी लिएको छ। त्यसैगरी अर्को कसुरमा कटवाल आफैले उच्च अदालत दिपायलको हलुका सवारी चालकको रूपमा आफ्नै श्रीमतीको नामबाट काल्पनिक कागजात तयार गरेको साथै स्थायी शिक्षिकाको रूपमा कार्यरतरहेकी आफ्नै श्रीमतीलाई करार सम्झौता गरेको कागजात बनाई पारिश्रमिक भुक्तानी गरेको भेटिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ। चार महिनाकोरकम १ लाख १२ हजार रूपैयाँ, सजाय पनि मागदाबी गर्दै आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित: १७ भाद्र २०७९ ०५:४४ शुक्रबार