राजनीति

खुल्ला तर्फ हार्ने चर्चितहरु

काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा उठेका केही चर्चित अनुहारहरुले पराजय ब्यहोरेका छन्। पूर्वमन्त्री, पूर्व सभामुख, पूर्व केन्द्रीय सदस्य भइसकेका केही नेताले यस पटक आफूलाई केन्द्रमा सुरक्षित गर्न सकेनन्।


सोमबार मध्यान खुल्ला तर्फका २५ केन्द्रीय सदस्यको नतिजा सार्वजनिक हुँदा प्रतिनिधिसभाका पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्रीहरु चिरञ्जीवि बाग्ले, लक्ष्मण घिमिरे, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, पूर्वमन्त्री पूर्णकुमार शेर्मा पराजित भएका छन्।

यस्तै नेपाली कांग्रेसका युवा नेता तथा संसद उदय शमशेर राणा, रामहरि खतिवडा, महालक्ष्मी उपाध्याय 'डिना', पूर्व सांसद मनमोहन भट्टराई, विनयध्वज चन्द लगायत पराजित भए। यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. गोविन्द पोखरेलले पनि केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।

खुल्ला तर्फको २५ केन्द्रीय सदस्यको लागि ९० जनाको उम्मेद्वारी परेको थियो। त्यस मध्ये शेखर कोइरालाले सबै भन्दा बढी मत ल्याएर विजयी भए भने २५ औं स्थानमा पूर्वमन्त्री मिनेन्द्र रिजालले आफूलाई सुरक्षित गरे।

शेखरले १८ सय ४८ मत प्राप्त गरेका छन्। १८ सय ४६ मत ल्याएर दोस्रोमा खुमबहादुर खड्का विजयी भएका छन् भने १७ सय ९५ मत पाएर तेस्रोमा प्रकाशमन सिंह विजयी भएका छन्। खुल्ला तर्फको मतगणनाको लागि ६ दिन लागेको थियो। प्रदेश तर्फको केन्द्रीय सदस्यको नतिजा आउने अझै बाँकी छ।

प्रकाशित: १ चैत्र २०७२ ०३:०१ सोमबार