राजनीति

महाअभियोग स्वतः निष्क्रिय भइसक्योः जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताउँदै आफू संसदको सम्मानका लागि मात्र आएको बताएका छन्।

(आज) बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा पुगेका उनले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन समेत आग्रह गरे। उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरेका हुन्।

उनले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गरे। यस्तै उनले आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरे। प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको जबराको भनाइ छ।

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आज बयान लिएको हो। समितिले जबरालाई ४३ वटा प्रश्न सोध्न तयार गरेको छ। गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए।

प्रकाशित: १५ भाद्र २०७९ ०९:०३ बुधबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाअभियोग सिफारिस समिति सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समिति