राजनीति

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने

मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा भएपछि उनले सकेसम्म झापाका कुनै पनि कार्यक्रम छुटाएका छैनन्।  

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेका छैनन्। काठमाडौं–५ का स्थायी बासिन्दासमेत भएकाले उनी त्यहींबाट निर्वाचन लड्ने ध्याउन्नमा छन्। उनले यसअघिको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए। काठमाडौंका अन्य निर्वाचन क्षेत्रका तुलनामा यहाँ एमालेको अलि बलियो संगठन भएको मानिन्छ। तर २०७० सालको निर्वाचनमा पोखरेल यसै क्षेत्रबाट कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए। एमाले सरकारमा हुँदा त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिएकै कारण अहिले पोखरेलका लागि सहज हुने उनको सचिवालयको विश्लेषण छ।

उपाध्यक्ष सुवास नेम्वाङले विगतदेखि इलाम–२ बाट निर्वाचन जित्दै आएका छन्। एमालेबाट लगातार निर्र्वाचन जित्ने नेतामध्ये नेम्वाङ पनि एक हुन्। उनले यसपटक पनि पुरानै क्षेत्रबाट निर्वाचनमा भाग लिने भन्दै आफूनिकट नेताकार्यकर्तालाई बताइसकेका छन्। एमाले विभाजन भएकाले र पाँचदलीय गठबन्धन रहेकाले नेम्वाङका लागि यसपटकको निर्वाचन पहिलाजस्तो सहज नहुने आकलन गरिएको छ।  

पार्टी काम मात्रै गर्न रुचाउने उपाध्यक्ष युवराज ज्ञवालीको कुनै निर्वाचन क्षेत्र छैन। उनले यसपटक पनि प्रत्यक्षबाट निर्वाचन नलड्ने बताएका छन्। सकेसम्म समानुपातिकमा समेटिने अन्यथा पार्टीले दिएको जिम्मेवारीमा बस्ने पक्षमा उनी छन्।  

उपाध्यक्ष रामबहादुर थापा पनि निर्वाचन लड्ने सोचाइमा छैनन्। केही दिनअघि आफूनिकट नेताहरूसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचन नलड्ने बताएका थिए। उनीनिकट एक नेताका अनुसार यसपल्ट थापाले समानुपातिकमा बस्ने रुचि देखाएका छन्।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न नेताकार्यकर्ताले दबाब दिएको भए पनि उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन्। उनी सकेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने सोचमा छन्। दबाब थेग्न नसके काठमाडौंको कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने उनीनिकट एक नेताको दाबी छ। ‘उहाँको टुंगो छैन। पार्टीले गरेको निर्णय मान्ने भन्ने छ,’ ती नेताले भने।  

अर्का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनाव भिड्ने तयारीमा छन्। अर्थमन्त्री हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका लागि ठुलै रकम छुट्याएका पौडेलले उक्त क्षेत्र नछाड्ने भएका हुन्। एमालेभित्र लगातार निर्वाचन जित्ने थोरै नेताको सूचीमा पौडेल पनि पर्छन्। पौडेलले २०७४ सालको निर्वाचनमा कांग्रेसका युवराज गिरीलाई हराएका थिए। सो क्षेत्रबाट अहिले पनि पौडेल उम्मेदवार बन्ने निश्चित भएको उनको सचिवालयले जनाएको छ।

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ लाई कार्यक्षेत्र बनाएर निर्वाचनको तयारी गरिरहेका छन्। २०७४ सालको निर्वाचनमा पनि त्यहीबाट जितेका पाण्डे अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितजस्तै छ। महासचिव शंकर पोखरेलले पनि संघीय संसद्को निर्वाचनमा भाग लिने जानकारी गराइसकेका छन्। २०७४ सालको निर्वाचनमा दाङ–२ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित पोखरेल लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए। उनको निर्वाचन क्षेत्र दाङ–२ भए पनि घरचाहिँ दाङ–३ मा पर्छ। पोखरेलले दाङको २ वा ३ बाट उम्मेदवारी दिने तयारी गरेको उनीनिकट नेताहरूले जनाएका छन्। २०७४ सालका प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीसँगको गठबन्धनका कारण कृष्णबहादुर महराका लागि दाङ–२ छाडिएको थियो।  

उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ दुवैले प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारी गरेका छन्। २०७४ सालमा गुल्मी–१ बाट विजयी ज्ञवालीले यस वर्ष पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन्। २०७० सालमा कांग्रेसका चन्द्र भण्डारीसँग पराजित ज्ञवाली २०७४ सालमा भने भारी मतका साथ विजयी भएका थिए। यसैगरी २०७४ सालमा लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री भइसकेका गुरुङ यसपालि संघीय संसद्को निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन्। वाम गठबन्धनको पक्षधरसमेत रहेका गुरुङ आफ्नो क्षेत्र सुरक्षित गर्न लागिपरेका छन्।  

अर्का उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष निर्वाचनमा सहभागी हुने छैनन्। उनी अहिलेसम्म जनअनुमोदित हुनेगरी निर्वाचनमा सहभागी भएका छैनन्।

यस्तै सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। त्यस क्षेत्रमा एमालेका अन्य नेताले पनि दाबी गरेकाले उनका लागि सुरुमा टिकट पाउन र पाइहाले विजयी हुन त्यति सहज नरहेको बताउने गरिन्छ। यसअघि सोही क्षेत्रबाट विजयी भएका विष्टलाई एमाले विभाजनको असरका कारण सहज अवस्था नहुने अनुमान पनि गरिएको छ।  

सचिव टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्। रायमाझी अर्घाखाँचीबाट र भट्ट कैलाली–४ बाट निर्वाचनमा सहभागी हुँदैछन्। रायमाझीका लागि एमाले नेताहरूले सहजै छाडे पनि भट्टका लागि भने त्यति सहज नभएको कैलालीका एमाले नेताहरू बताउँछन्। यी दुवै माओवादीबाट आएर सचिव बनेका हुन्।

अर्का सचिव योगेश भट्टराईले पनि पुरानै निर्वाचन क्षेत्र ताप्लेजुङलाई रोजेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने संकेत गरेको उनीनिकट नेताहरूले बताएका छन्। भट्टराईलाई झापामा टिकट दिएर ताप्लेजुङमा एमालेले अर्को कोही नेतालाई टिकट दिने चर्चा पनि चलाइएको छ। तर त्यो सत्य नभएको भट्टराईनिकट ताप्लेजुङका एक नेताले बताए।  

सचिव पद्मा अर्यालले स्याङ्जा–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन्। अर्याल २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएकी थिइन्। अर्का सचिव रघुवीर महासेठले पनि धनुषा–४ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। एमालेका लागि मधेसमा उनी विशेष नेता भएकाले उनको टिकट र क्षेत्र सुरक्षित छ। सचिव छविलाल विश्वकर्मा सकेसम्म प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्। यसअघि उनी २०७४ सालको निर्वाचनमा रूपन्देही क्षेत्र १ बाट विजयी भएका थिए। निकट एक नेताका अनुसार उनी सकेसम्म प्रत्यक्षबाट टिकट लिने नभए समानुपातिकमा रहने बताइएको छ। तर उनी आफैंले भने अहिलेसम्म केही बताएका छैनन्।

प्रकाशित: १५ भाद्र २०७९ ०१:४३ बुधबार

संघीय संसद्को निर्वाचन