राजनीति

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा यर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्।

माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी विष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले मन्त्री बनाउने निर्णय गरेको थियो। ‘पार्टीको निर्णय अनुसार राजीनामा दिएका हौँ,’ विष्टले भने, ‘नयाँ साथीहरुले सरकार सञ्चालन गर्नुहुन्छ, हामीले पार्टी सञ्चालनमा ध्यान दिन्छौँ।’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्। उपसभामुख रहेकी पुष्ण घर्तीमगरबाहेक कामी र आचार्यले सपथ खाएपछि सबै जना मन्त्री बन्नेछन्। यो अवधिमा माओवादीले छ महिनाका गैरसांसद हुम्लाका कार्चेन लामालाई पनि मन्त्री बनाइसकेको छ।

विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए। माओवादीले नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ। नयाँ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको सपथ खुवाइनेछ।

प्रकाशित: १२ भाद्र २०७९ ०९:४१ आइतबार

कर्णाली प्रदेश नेकपा माओवादी केन्द्र