राजनीति

राष्ट्रियसभाले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठायो

फाइल तस्बिर।

नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे। 

अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ। विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ।

राष्ट्रपतिले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित  प्रतिनिधि सभामा फिर्ता  पठाएका थिए।

सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बोलाइएको छ।

प्रकाशित: १२ भाद्र २०७९ ०८:३८ आइतबार

नागरिकता विधेयक