राजनीति

‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’

प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्। प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको भण्डारीले बताए।  

यही हप्ताभित्र चालु अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको र चुनाव घोषणा भइसकेकाले यही प्रदेशसभाले नाम दिने सम्भावना टरिसकेको उनको भनाइ छ। ‘यही हप्ताभित्र प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’ नामकरण राजधानी तोक्नभन्दा सजिलो भए पनि प्रदेश १ मा नामकरणको विषय नै जटिल बनेको भण्डारीले बताए।

राजधानी टुंगो लगाएकै बेलामा दलहरूबीच प्रदेशको नाम सहमतिको आधारमा टुंग्याएर जाने समझदारी भए पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामा टुंग्याउन नसकिएको भण्डारीले स्पष्ट पारे। ‘विभिन्न समयमा भएको सर्वदलीय छलफल, दलहरूले गरेको आन्तरिक छलफलबाट पनि कुनै निकास निस्कने अवस्था नआएको र दलहरूले आफ्नो हठ छाड्न मानेनन्।’ प्रदेशको नाम राख्न हाल कायम ९० सदस्यीय प्रदेशसभाको कुल संख्याको दुईतिहाइ संख्या चाहिन्छ। तर, कुनै पनि दलको दुईतिहाइ बहुमत नभएको र कुनै पनि नाममा सहमति नजुटेको भण्डारीले बताए। उनले भने, ‘नाम राख्न दुईतिहाई बहुमत चाहिने भएकाले दलीय सहमतिविना प्रदेशसभामा नामकरणको विषय प्रवेश गराउनुको अर्थ रहँदैन।’ प्रदेशसभाले ५ वर्षमा ६१ विधेयक पास भएको २ संशोधनको चरणमा रहेको र बाँकी रहेको दुई विधेयक आफ्नै कार्यकालमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। अहिले सञ्चारसम्बन्धी विधेयक अझै समितिमा छलफलमै रहेको उल्लेख गरे।

प्रकाशित: १२ भाद्र २०७९ ०१:१५ आइतबार

प्रदेश १