राजनीति

ताप्लेजुङमा ६१ जना उम्मेदवारले बुझाए सफाई सहितको स्पष्टीकरण

ताप्लेजुङका स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयावधि भित्र खर्च विवरण नबुझाएका १ सय ५६ जनामध्ये ६१ जनाले सफाईको स्पष्टीकरण सहित खर्च विवरण बुझाएका छन्।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई आयोगले सफाई सहितको स्पष्टीकरणका लागि ७ दिने म्याद दिएको थियो। सो म्याद भित्र ६१ जनाले स्पष्टीकरणका साथ खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा यहाँ उम्मेदवार भएकामध्ये २ सय २९ जनाले निर्वाचन खर्च विवरण बुझाएका थिएनन्। यो जिल्ला समन्वय समिति र नगर तथा गाउँ कार्यपालिकामा उम्मेदवार भएका सहितको संख्या हो।

आयोगले तत्कालका लागि स्थानीय तहको प्रत्यक्षतर्फ उम्मेदवार भई निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेकाहरुलाई मात्र सफाई सहितको स्पष्टीकरणका लागि समयसीमा तोकेको थियो। निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचनमा भएको खर्चको बिल भरपाई सहित आयोगले तोेकेको कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ। सो समयावधि भित्र खर्च विवरण नबुझाएकाहरुलाई अन्तिम मौका भन्दै निर्वाचन आयोगले भदौ ५ गते देखि ७ दिन सम्म व्यक्ति स्वयम उपस्थित भई सफाई सहितको स्पष्टीकरण पेशगर्नुपर्ने समयसीमा तोकेको थियो।

प्रकाशित: १० भाद्र २०७९ ०६:५८ शुक्रबार

स्थानीय तहको निर्वाचन