राजनीति

राष्ट्रियसभामा नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित

राष्ट्रियसभाले काँग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो।

राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरीको शोक प्रस्ताव प्रस्तुत गर्दै भने, ‘प्रतिनिधिसभाका सदस्य माननीय प्रदीप गिरीको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मनु भएका प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौं ४ गते शनिबारको दिन निधन भएकोमा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ। स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो। यो बैठक स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समदेवना प्रकट गर्दछ। माननीय सदस्यहरु उपरोक्त शोक प्रस्तावलाई पारित गरिदिन हुन अनुरोध गर्दछु। सो शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’

स्वर्गीय गिरी नेपाली काँग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य थिए। राष्ट्रियसभाको अर्को बैठक यही भाद्र १२ गते आइतबार अपरान्ह १ बजेर १ मिनेटमा बोलाइएको छ।

प्रकाशित: ६ भाद्र २०७९ ०८:०२ सोमबार

राष्ट्रियसभा प्रदीप गिरी प्रखर समाजवादी चिन्तक राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना