राजनीति

भ्रष्टाचार अन्त्य नभइ दिगो विकास सम्भव छैनः प्रदेश सांसदहरु

प्रदेश सभा सांसदहरुले भ्रष्टाचार अन्त्य नभएसम्म देशले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताएका छन्।

आइतबार दिगो विकासका लागि सुशासन, प्रवृत्ति र प्राथमिकता विषयक छलफल कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन्।

उनीहरुले सरकारले दिगो विकासका प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा कार्यान्वयन नगरेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए। कार्यक्रममा प्रदेश सभा सांसदहरुले सरकार र जनप्रतिनिधिहरुले आफ्ना जिम्मेवारीलाई पूरा गर्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए। उनीहरुले आफ्नो पार्टीको सरकार रहँदा गलत कुराहरुको बारेमा पार्टीका सांसदहरुले बोल्न नपाउने वा पार्टीको अनुशासन विपरित ह्वीप लाग्ने जस्ता नीतिका कारण पनि कतिपय समस्या बढ्दै गइरहेको धारणा राखे। नीति निर्माण गर्ने र वकालत गर्ने कुरामा बढी जोड दिँदा कार्यान्वयनको प्रभावकारीतामा पहल हुन नसकेको र त्यसकै कारण पनि कतिपय दिगो विकासका लक्ष्य पूरा गर्न नसकिएको सांसहरुको बुझाई छ।  

कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रवृत्ति र प्राथमिकतालाई व्यवहारमा ल्याउन नसकेसम्म दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताए। उनले सरकारमा रहँदा र जनप्रतिनिधिबाट चुनिएर आएपछिका आफ्ना काम, कर्तव्य र जिम्मेवारीलाई बुझ्न आवश्यक रहेको बताए। सांसद साहले दिगो विकास लक्ष्य प्राप्तिको दायित्व साझा भएकोले आफ्नो भुमिकालाई गौण नगरी प्राथमिकता छुट्याएर अघि बढ्न सुझाव दिए।  

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले प्रदेश सभा सदस्य स्वतन्त्र रहन नसकेको गुनासो गरिन्। उनले संसदमा प्रस्तुत हुँदा जनताको प्रतिनिधि हौँ भनेर महशुस नगरेसम्म जनताका समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्ति गर्न नसक्ने बताइन्। आफ्नो पार्टीको सरकार भएको बेला उसले गलत कदम उठाए पनि गलत हो भन्न नसक्ने स्थिति रहेको भन्दै नीति निर्माण नै परिमार्जन गर्न आवश्यक रहेको उनले बताइन्। संसदमा रहँदा बनाएका कानूनहरु सबैभन्दा पहिला संसद र सरकारबाट नै लागू गर्नुपर्ने उनको भनाइ छ। उनले महिलाको उपस्थिति हुनैपर्ने संविधानको व्यवस्था भएपनि मधेस प्रदेश सरकारले आजसम्म मन्त्रीपरिषद्मा महिला मन्त्री नबनाएको भन्दै प्रदेशलाई नमूना प्रदेशको संज्ञा दिइन्। सरकारमा पुगेपछि कार्यान्वयन गर्ने बेलामा सिद्धान्त नचाहिने तर बोल्ने र लेख्ने बेलामा मात्रै सिद्धान्तलाई अघि सार्ने कुराको समाधान नखोजेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न नसकिने जिकिर तिवारीले गरिन्।

यस्तै मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संविधानमा उल्लेखित भाषाका कारण कतिपय विवाद लम्बिँदै गएकोबताए। उनले संविधानमा दुई अर्थ लाग्ने भाषा प्रयोग गरिएको र जसले विवादका तानिरहेको उल्लेख गर्दै संविधान स्पष्ट हुन र संविधानको व्याख्या हुँदा पनि एक किसिमको ठोस व्याख्या हुन जरुरी रहेको बताए। संघीय सरकारले कानून निर्माणको वातावरण नदिएका कारण प्रहरी समायोजन, निजामति ऐन बनाउन नसक्दा समावेशी प्रतिनिधित्व हुन नसकेको उनको दाबी छ। संसद सहयोग परियोजना युएनडीपीको सहयोगमा मधेस प्रदेशको प्राकृतिक श्रोत तथा वातावरण समितिले जनकपुरमा आयोजना गरेको कार्यक्रममा उनले विकासका लागि छुट्टै बजेट कहाँ र कति भन्ने हिसाबबाट मापदण्ड बनाएर वितरण गर्न आवश्यक रहेको बताए। जनता समाजवादी पार्टीका सांसदसमेत रहेका यादवले ६० लाखमा सांसदको टिकट किनबेच हुने र मन्त्री बन्न करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था सिर्जना भएकोले भ्रष्टाचार समाप्त गर्नुपर्ने उनको तर्क छ। उनले भ्रष्टाचार समाप्त नभइ समृद्धितिर जान नसक्ने उल्लेख गर्दै सुशासन कायम गर्ने हो भने जनप्रतिनिधि, राजनीतिकर्मीे, कर्मचारी, नागरिक समाज, पत्रकार र व्यापारी सबैको सम्पति छानबिन हुनुपर्ने माग राखे।

जनता समाजवादी पार्टीका सांसद कौशल यादवले भ्रष्टाचारका लागि राजनीति गर्ने व्यक्तिहरुबाट दिगो विकासको लक्ष्य प्राप्त हुन नसक्ने बताएका छन्। उनले देशको प्रधानमन्त्रीमा आफ्नै शरीरको हेरचाह गर्न नसक्ने अवस्था रहेको भन्दै त्यस्ता व्यक्तिलाई जिम्मेवारी दिएपछि कुनैपनि लक्ष्य पूरा हसन नसक्ने जिकिर गरे। उनले वृद्ध नेताहरुबाट अब आफ्नो लागि मात्रै वृत्ति विकास हुने तर दिगो विकासका लक्ष्य पूरा नहुने बताए। सरकार नै ठिक ढंगले नचलेपछि सुशासन कायम हुन नसक्ने उनको दाबी छ।

कार्यक्रममा अन्य विज्ञहरुले भ्रष्टाचार मुक्त समाजको परिकल्पनाबाट नै दिगो विकासको लक्ष्य पूरा हुने बताएका छन्। सरकारले भ्रष्टाचारलाई निर्मुल नगरी कुनैपनि लक्ष्य पूरा गर्न नसक्ने उनीहरुको भनाइ छ। नागरिकहरुले पनि भ्रष्टाचार र असामाजिक व्यवहार स्वीकार्न नसक्ने भन्दै भ्रष्टाचार निर्मुल पारी तोकिएको समयसीमा भित्र नै दिगो विकासको लक्ष्य प्राप्त गर्नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा मधेस प्रदेश सभाकी उपसभामुख उपमाकुमारी देवीले प्रदेश सांसदहरुले सुशासन अनुगमनमा आफ्नो भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । 

प्रकाशित: ५ भाद्र २०७९ १०:१३ आइतबार

मधेस प्रदेश