राजनीति

काँग्रेसले 'जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

नेपाली काँग्रेसले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने भएको छ। शनिबार काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सो अभियान सुरु गर्ने जानकारी गराएको हो।

जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र काँग्रेस नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार सो अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन्। उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सो अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन्।

प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको बताए। निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै वीन वीन हुने गरी त्यसको टुंगो लगाउने बताए।

प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्नेगरी सिटमा दाबी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे। त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ थियो। प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताए।

प्रकाशित: ४ भाद्र २०७९ ११:५६ शनिबार

नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत जनताको साथमा काँग्रेस