राजनीति

सहिदको सम्मानप्रति सरकार गम्भीर छ: मुख्यमन्त्री शाही

फाइल तस्बिर।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाउने सहिदको सम्मान र उनीहरुका परिवारको सहज जीवन निर्वाहका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले सहिदको सम्मानमा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति र ‘सहिद परिवार भत्ता’को व्यवस्था गरिएको बताए।

‘प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान गुमाउने सहिदहरुको सम्झनामा ‘सहिद स्मारक पार्क’ निर्माण गर्नुका साथै सहिद परिवारका सन्ततीहरुका लागि छात्रवृत्ति लगायतका कार्यक्रमहरु सञ्चालन गरेका छौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘चालू आर्थिक वर्षबाट सहिद परिवार भत्ताको व्यवस्था पनि प्रदेश सरकारले गरेको छ।’

मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदहरुको सपना पूरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। मुख्यमन्त्री शाहीले दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै आन्दोलनको नेतृत्व गर्ने, सहभागी हुने र छुट्टैै प्रदेश बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने सबैमा सम्मान व्यक्त गरेका छन्।

‘संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप अहिले हामीले १० वटा जिल्ला समेटिएको कर्णाली प्रदेश प्राप्त गरेका हौं,’ शुभकामना सन्देशमा भनिएको छ, ‘सुर्खेतका टीकाराम गौतम, यामबहादुर वि.सी., गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरको शहादत पश्चात आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो।’

मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि ‘६ब’को नीति लिइएको बताए। ‘कर्णाली प्रदेशको विकास र समृद्धिका लागि ‘समृद्ध कर्णाली , सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोचलाई पूरा गर्न ‘६ब’ ‘बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचार, सबैको सहकार्य र सरोकारको मूल कार्यनीतिका साथ प्रदेश सरकारले काम गरिरहेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘सकारात्मक चिन्तनको विकास गरी सम्मुनत प्रदेश निर्माणमा अग्रसर हुन सबैमा आग्रह गर्दछु।’

प्रकाशित: ४ भाद्र २०७९ ०६:४४ शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही