राजनीति

माओवादीमा पदाधिकारी प्रस्ताव महासचिवमा देव गुरुङ

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको सात महिनापछि अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। अध्यक्ष दाहालले बिहीबार बस्ने स्थायी समिति बैठकमा पार्टी विधानको व्यवस्थाअनुसार नाम प्रस्ताव गर्ने भनिएको थियो तर बैठक शुक्रबारसम्मका लागि सरेको छ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिएकाले अध्यक्ष दाहालसहितका नेता त्यतै हुनुपर्दा बैठक शुक्रबारका लागि तय भएको हो। दाहालले शुक्रबार बस्ने बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा गणेश शाह, दीनानाथ शर्मा, कृष्णबहादुर महरा, पम्फा भुसाल र हरिबोल गजुरेललाई चयन गर्ने तयारी गरेका छन्।

अध्यक्ष पछिको शक्तिशाली पद मानिने महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। तर महासचिवमा गजुरेलको दाबी पनि कायमै रहेको उनीनिकट एक नेताले बताए। त्यस्तै उपमहासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। महासचिवका दाबेदारहरू महरा, भुसाल, शर्मा, पुन र गजुरेललाई दाहालले उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्ने भएका हुन्।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकमा केन्द्रीय समितिमा थप्नुपर्ने, पोलिटब्युरोमा थप्नुपर्ने र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधिकारी टुंग्याउने विषयमा छलफल भएको थियो। आठौं महाधिवेशन भएको लामो समय बित्दा पनि पदाधिकारीको टुंगो लगाउन नसकेको माओवादी केन्द्रले गत असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमार्फत पदाधिकारी टुंग्याउने जनाएको थियो।

पदाधिकारी चयन गर्ने समयमा महासचिवका दाबेदारसमेत ठानिएका अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत रूपमा बिचौलिया प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन सुरु भएकाले तत्काल पदाधिकारीको टुंगो लगाउने निर्णय टरेको थियो। शर्मा छानबिनपछि पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किएका कारण महासचिवमा पुनको सम्भावना बढेको आकलन नेताहरूले गरेका थिए।

असार तेस्रो साता बसेको केन्द्रीय समितिको बैठकले ४१ जनालाई स्थायी समिति सदस्य बनाउने निर्णय गर्दै ३२ जनाको टुंगो लगाएको थियो। त्यस्तै पोलिटब्युरो सदस्य पनि सबैलाई रिझाउने गरी चयन गरिएको थियो। सुरुमा १ सय २५ सदस्यीय पोलिटब्युरो बनाउने भनिए पनि पछि ३१ सदस्यीय वैकल्पिक पोलिटब्युरो सदस्य थप गरिएको थियो।

उक्त बैठकबाट अध्यक्ष दाहालले आफ्ना छोरी ज्वाइँलाई केन्द्रीय सदस्य बनाएको भन्दै चर्काे आलोचनासमेत भएको थियो। गत पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनबाट अध्यक्ष दाहाल सर्वसम्मत अध्यक्षमा चयन भएका थिए।

प्रकाशित: ३ भाद्र २०७९ ०२:३५ शुक्रबार

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति बैठकमा पार्टी विधान