राजनीति

टिकटकमा रमाइलो गर्नुभन्दा महिलाका अधिकार र मुद्दाका बारेमा कुरा उठाऔँ: आरजु राणा

प्रधानमन्त्री पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिला अधिकार वा महिलाका मुद्दा उठाउनुपर्ने बताएकी छन्।

मंगलबार नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तीजको महत्व र गरिमालाई घट्न दिन नहुने बताइन्। पछिल्लो समय टिकटकका कारण तीजको मौलिकता हराउँदै गएको उनले बताइन्।  

कार्यक्रममा उनले भनिन्,‘तीजमा महिला अधिकार कुरा गरौं, महिलाका मुद्दा उठाऔं, ‘तीजको महत्व र गरिमा घट्न दिन हुन्न। टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका मुद्दा उठाऔं।’

यस्तै स्थानीय तह चुनावको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि पार्टीलाई ठूलो बनाउनका लागि सबै जुट्नुपर्ने उनले बताइन्।

‘आमचुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनुपर्छ। यसका लागि सबै जुटौं,चुनावको तयारीमा सबै इमान्दारिताका साथ लागौं।’, उनले भनिन्। 

प्रकाशित: १ भाद्र २०७९ ०८:०१ बुधबार

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा