राजनीति

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रतिनिधित्व खोज्दै युवाहरू

प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाहरू प्रतिनिधित्व खोज्न थालेका छन्। युवा नेताहरु आउँदो निर्वाचनका लागि आफूहरू तयार रहेको भन्दै सामाजिक सञ्जाल रंग्याउन थालेका छन्। 

कांग्रेस कैलालीका उपसभापति समेत रहेका नेता भीम बडुवालले यसपालि आफू कैलालीको क्षेत्र नम्बर ३ बाट संघीय सांसदको उम्मेदवारीमा बलियो दाबी रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। उनी मात्रै हैन पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा कार्यकर्ताहरू आफू निकटस्थ युवा नेताहरूको फोटो तथा पोष्टर बनाई शेयर गर्न थालेका छन्।    

सुदूरपश्चिममा प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पछिल्लो समयमा ४०÷४५ उमेर समूहका युवाहरू सर्न थालेका छन्। यसअघि भएको स्थानीय तहको निर्वाचनमा वडादेखि पालिकासम्ममा युवाहरुको नेतृत्वले स्थान पाएको देखेका युवाहरु प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हौसिएका हुन्। अहिले सुदूरपश्चिममा ४०/४५ उमेर समूहका युवा नेताहरूको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि माहोल तात्न थालेको छ। 

यसपालि आफू पनि प्रदेश सभा सदस्यको निर्वाचनको तयारी थालिसकेको बताउँदै नेकपा एमाले कैलालीका जिल्ला कमिटी सचिव डेजी पाण्डेले भने,‘पार्टीले मलाई प्रतिनिधि सभाको निर्वाचका लागि तयारी थाल्न भनेको थियो, तर पनि मैले भने कैलालीको क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेश सभा सदस्यको निर्वाचनका लागि घरदैलो सुरु गरिसके।’ आफूसँगैका साथीहरू स्थानीय तहको निर्वाचनमा जोडिइसकेको उनले बताए। उनले भने,‘हामीसँगै राजनीति गरेका साथीहरु कहीँ न कहीँ अवसर पाएर जोडिइसकेका छन्, बाँकी रहेका हामी पनि यसपालिको प्रदेश र प्रतिनिधि सभा सदस्यका तयारीमा रहेका छौँ।’ 

यस्तै कैलालीको क्षेत्र नम्बर ५ को ‘क’ बाट एमालेका युवा नेता विष्णु चन्द, कैलालीको क्षेत्र नम्बर १ को ‘क’ बाट द्वारिका न्यौपानेको नाम चर्चामा आएको छ। ४०/४५ उमेर समूहका युवाहरुमा अहिले नेपाली कांग्रेसबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’का नेता लेखराज जोशी, कैलाली कांग्रेसका युवा नेताहरू लक्ष्मण शाही, पूर्ण कुँवर, क्षितिज भण्डारी, केशव मिश्र, नृप सुनार, नेकपा माओवादी केन्द्रका युवा नेताहरू लक्षीराम आचार्य, रमेश धामी, हुकुम साउँद, डिएल भण्डारी, विकास चौधरी, विवेक चौधरीलगायतको नाम सामाजिक सञ्जालमार्फत् चर्चामा चुलिएका छन्।

सधैँभरी उही अनुहार र उनै नेताले युवाहरुको आवाज उठाउन नसक्नु नै पछिल्लो दिनमा मतदाताहरुले निर्वाचनमा युवाहरुलाई छान्न थालेको नेकपा एमाले कैलालीका युवा नेता विष्णु चन्दले बताए। उनले भने, ‘पुरानो नेतृत्वले कहिल्यै पनि युवाहरुको आवाज न त उठान गर्न सक्नु भयो, न त राष्ट्रियताका पक्षमा नै बोल्न सक्नु भयो, त्यही कारण पुरानो र उही अनुहारलाई छोडेर मतदाताले पनि युवाहरुप्रति भरोसा गर्न थालेको छ।’ यसको पछिल्लो उदाहरण भनेको स्थानीय निर्वाचनमा बढीभन्दा बढी युवाहरू निर्वाचित हुनु रहेको उनले बताए।  

नेतृत्व तहमा लामो समयसम्म एकथरी नेता वर्षौदेखि बसिरहने र पुस्तान्तरण नगरेका कारण स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्रबाट लडेका युवाहरुले जितेको उदाहरण नै काफी रहेको कांग्रेस नेतृ प्रेरणा पाण्डे बताउँछिन्। उनले भनिन्,‘उही अनुहार र उही पुराना नेताले युवाहरुको मनोभाव बुझ्न सकेनन् र त स्थानीय तहमा धेरै ठाउँमा मतपरिणाम फरक देखियो। अब पनि राजनीतिक दलले युवाहरुलाई पनि मिलाएर जानुपर्ने आवश्यकता देखियो।’ उनले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’का नेता लेखराज जोशीलाई युवाहरुले अगाडि सारेको पनि बताइन्। ‘हामीले युवाहरुको प्रतिनिधित्व खोज्दै नेता जोशीलाई अगाडि बढाएका छौँ,’ उनले भनिन्,‘जोशी मात्रै नभई समग्र सुदूरपश्चिममा पुराना अनुहारका नेता मात्रै नभई त्यस ठाउँमा नयाँ अनुहारका युवा नेताहरुलाई पनि ठाउँ दिनुपर्छ, जसले आम युवाहरुको प्रतिनिधित्व हुनेछ।’ उनले कांग्रेसको १४औँ महाधिवेशनको चर्चा गर्दै भनिन्,‘कांग्रेसको १४ औँ महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम हेर्ने हो भने वडा, स्थानीय तह, जिल्ला, प्रदेशहुँदै केन्द्रसम्मा पनि ४०/४५ वर्ष उमेर समूहका युवा नै अगाडि देखिए र उनीहरुले नै जिते पनि।’ 

पछिल्लो समयमा मूलधारको राजनीतिसँगै स्थानीयको निर्वाचनमा पनि युवाहरुकै वर्चश्व रहेको बताउँदै राजनीतिक विश्लेषक तथा कैलाली बहुमुखी क्याम्पसका राजनीति शास्त्रका सह–प्राध्यापक देवराज अवस्थीले भने,‘धेरै नयाँ युवाहरु र थोरै पुराना अनुहार आउनुपर्छ। जसले गर्दा पुरानाको ज्ञान र सीप प्रयोग गरेर नयाँ युवाहरुले काम गर्नसक्छन्। तसर्थ पुरानाको तुलनामा नयाँ युवाहरु बढी आउनु जरुरी छ।’ पछिल्लो समयमा राजनीतिक दलमा आवद्ध पुराना नेताका कारण देश अस्थित भइरहेको र राजनीतिमा विकृति आएका कारण पनि युवाहरु त्यसलाई सुधार्न सकिन्छ कि भनेर पनि राजनीतिक नेतृत्वमा युवाहरु आउन खोज्न थालेको आँकलन पनि गर्न सकिने उनी बताउँछन्। ‘केही समयदेखि पुराना नेताहरुको अकर्मण्यताका कारण देश अगाडि बढ्न नसकेको भन्दै युवाहरुमा राजनीतिप्रति वितृष्णा जागेको स्वर सुनिन थालेको थियो,’ उनले भने,‘त्यही वितृष्णा र राजनीतिक विकृतिलाई हटाउन पनि युवाहरु नेतृत्व लिन अग्रसर भएको पनि हुनसक्छ।’

प्रकाशित: २९ श्रावण २०७९ ११:५८ आइतबार