राजनीति

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटीले भदौ महिना भरी संगठन विस्तार केन्द्रित हुने निर्णय गरेको छ।

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा  कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए।

उनका अनुसार, बैठकमा प्रदेश सरकार र मन्त्रीहरूसँग सम्बन्धित विषयमा पनि रिर्पोटिङ भएको छ। बैठकले सदस्यता नवीकरण, विस्तारलगायत सबै प्रकारको अभिलेखीकरणको कामलाई भदौ महिनाभरमा सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

पार्टी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, पार्टीका सचिव तथा सह–इञ्चार्ज एवं प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ श्रावण २०७९ १६:०८ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी