राजनीति

चुनावको मिति तोकिएपछि गण्डकीका महिला माननीय अन्तर प्रदेश भ्रमणको तयारीमा

सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्ने भनेर मिति घोषणा गरेको छ। निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ। उसले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ। देश निर्वाचनमय भइरहँदा गण्डकी प्रदेशका महिला माननीयहरु अन्तर प्रदेश भ्रमणमा निस्किने तयारी गरेका छन्। युएनडिपीको आयोजनामा गण्डकी प्रदेश सभाका महिला सदस्य (सांसद)हरु अन्तर प्रदेश भ्रमणमा जाने तयारीमा जुटेका हुन्।

युएनडिपीले महिला सांसदहरुलाई आगामी भदौ ५ गतेदेखि १२ गतेसम्म अन्तरप्रदेश भ्रमणमा लैजाने तयारी गरेको छ। अनुभव आदानप्रदान गर्न भन्दै युएनडिपीले सातै प्रदेशमा लैजाने योजना अन्तर्गत दुई वर्षअघि प्रदेश नम्बर १, मधेश प्रदेश र वागमती प्रदेश भ्रमण लगेको थियो। यो बिचमा कोरोना भएपछि गत वर्ष अन्य प्रदेश भ्रमण रोकिएको थियो। तर अहिले युनडिपीले लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भ्रमणमा लैजाने भनेको छ। गण्डकी प्रदेशमा मन्त्री, उप–सभामुखसहित २० जना महिला सांसद छन्।

महिला सांसदहरु भने भ्रमणमा जाने कि नजाने भनेर विभाजित छन्। चुनावको मिति सार्वजनिक भइसकेको अवस्थामा अन्तर प्रदेश भ्रमण जानु उपयुक्त नहुने विपक्षी नेकपा एमालेका महिला सांसदहरुको भनाई छ। तर सत्तापक्षीय सांसदहरु अवसर किन खेर फाल्ने भन्दै जानुपर्छ भन्ने पक्षमा उभिएका छन्। भ्रमण जाने पक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, नेपाल समाजवादी पार्टीका सांसदहरु उभिएका हुन्। एमाले सांसदहरुलाई भने पार्टीले नै भ्रमणमा नजान निर्देशन दिइसकेको छ। त्यहि भएर केहि सांसदहरुको जाने ईच्छा भएपनि पार्टीको निर्देशन मानेर नजाने भनेर बसेको श्रोतले बताएको छ।

नेकपा एमालेकी सचेतक सावित्रा रानाले चुनावको मुखमा भ्रमणमा जानु उपयुक्त नलागेर नजाने निर्णय गरेको बताईन्। अन्य सांसदहरु के गर्नुहुन्छ हामीलाई थाहा भएन, उनले भनिन्,।।।तर हामीचाहिं भ्रमणमा जाँदैनौं।’ उनले संसदीय दलको बैठकले नै संसदीय भ्रमण नगर्ने भनेर निर्णय गरिसकेको भन्दै त्यस्ता भ्रमणमा आफूसहित आफ्ना दलका कोहिपनि महिला सांसद भ्रमणमा सहभागि नहुने स्पष्ट पारिन्।

सत्तारुढ नेपाली कांग्रेसकी प्रमुख सचेतक ओमकला गौतम भ्रमण जाने वा नजाने भन्ने विषय टुङ्गो लागिनसकेको बताउँछिन्। चुनावको मिति घोषणा भइसकेको अवस्थामा जानु राम्रो नहोला कि भन्ने कुरा आएको छ,उनले भनिन्,।।।त्यसैले सल्लाह गरेर जाने भएपनि वा नजाने भएपनि सामुहिक निर्णय गर्छौं। कोहि जाने र कोहि नजाने भन्ने हुँदैन।’ उनले चुनावको मिती तोकिएपछि भ्रमणमा लैजाने तयारी गरेकाले केहि शङ्कापनि उब्जेको बताईन्।

प्रकाशित: २५ श्रावण २०७९ १३:५१ बुधबार