राजनीति

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ। संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि सो सङ्ख्या नपुगेपछि स्थगित भएको हो। 

बैठकमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभाको सन्देशसहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए।

विधेयकमाथिको छलफलमा उठेका विषयमा मन्त्री राईले विधेयकको उद्देश्य सहरी क्षेत्र र काठमाडौँको यातायात यात्रु्मैत्री बनाउने रहेको बताए। उपत्यकामा सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उनको भनाइ छ।

प्राधिकरणमा बढी जनसङ्ख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उनले उल्लेख गरे। विदेशी संस्थाबाट पैसा लिने भएपनि प्रचलित कानुनलाई पालना गरेर मात्रै पैसा लिन सकिने उनको भनाइ छ।

संशोधनकर्ता सांसद प्रेम सुवालले विधेयकले सहर मात्रै नभएर ग्रामीण क्षेत्रको यातायात र काठमाडौँ उपत्यका मात्रै नभएर देशभरको सवारीसाधनको हेर्नुपर्ने र परिषद् सचिवभन्दा मन्त्रीको अध्यक्षतामा गठन हुनुपर्नेमा जोड दिए। संशोधनकर्ता वृन्दा पाण्डेका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद् विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात अस्तब्यस्त भइरहेकाले अबका दिनमा सुधार हुने अपेक्षा गरिएको बताए।

संशोधनकर्ता गगनकुमार थापाका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद अतहर कमाल मुसलमानले ग्रामीण र सहरी क्षेत्र समेटेर बढ्दा विधेयक समृद्ध हुने र सहरी क्षेत्र तथा सवारी क्षेत्रका विज्ञ समेटिने विश्वास व्यक्त गरे। विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद दिव्यमणि राजभण्डारीले परिषद्मा यातायात क्षेत्रसँगै आर्थिक र विकासका क्षेत्र र नगरपालिकाका प्रतिनिधि समेट्दा राम्रो प्रतिनिधित्व हुनसक्ने बताए।

सांसद दुर्गबहादुर रावतले एकातिर चालक अनुमतिपत्र नदिने र अर्कातिर अनुमतिपत्र नभई किन सवारीसाधन चलाएको भनी ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको बताए। सांसद केदार सिग्देलले प्राधिकरणले सुरुमा राजधानीको यातायात व्यवस्थापन हेरेर बिस्तारै देशभर बिस्तार गर्दा उपयुक्त हुने धारणा राखे।

सांसद रङ्गमति शाहीले काठमाडौँ सफा र सुन्दर सहर बनाउनुपर्नेमा सहर खाल्डैखाल्डा भएको र दुर्घटनाको जोखिम रहेको औँल्याए। सांसद अञ्जना बिसङ्खेले काठमाडौँ उपत्यकालाई कस्तो बनाउने भनी प्राविधिकसहितको छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने धारणा राखे।  प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते आइतबार बिहान ११ बजे बस्ने छ। 

प्रकाशित: २५ श्रावण २०७९ १२:५६ बुधबार