राजनीति

बाढी, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग

नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदहरुले बाढी, पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढीपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन्। 

बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढि, पहिरोबाट बढी प्रभावित भएपनि उनीहरुलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन्। उनले वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकालाई सचेत गराइन्। 

सांसद भट्टले भनिन्, ‘देशभर भईरहेका अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको समाचार आईरहेको छ। सुदूरपश्चिमको नौं वटै जिल्लामा वर्षाका कारण बाढीपहिरो आउँदा जनताले धेरै क्षति व्यहोर्नु परेको छ। त्यसमा पनि विशेष कैलाली र कञ्चनपुरका जनता यसबाट ज्याँदा प्रभावित भएका छन। जसका कारण त्यहाँका जनताको दैनिकी कष्टकर भईरहेको छ। गाँसबासको समस्या भईरहेको छ। वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनिकरण, रोकथाम र बाढि पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारको यथाशिघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

एमालेका अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन्। उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत दिइन्। सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाइन्। 

प्रकाशित: २५ श्रावण २०७९ ०८:२५ बुधबार