राजनीति

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार: मन्त्री शर्मा

फाइल तस्बिर।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काईरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानूनको संशोधनका लागि सरकार तयार रहेको बताएका हुन्। उनले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताए। उनले लैंगिक समानता र समावेशिताको प्रतिकुल रहेको नेपालका कानूनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकुल नै कानून परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।

मन्त्री शर्माले नेपालको कानूनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानूनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताए। उनले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।  सन् २०३० सम्म संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे। सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरुपनि प्रतिवद्ध हुनुपर्ने उनको भनाई छ।

प्रकाशित: २४ श्रावण २०७९ ०८:३३ मंगलबार

गोविन्दप्रसाद शर्मा काईराला