राजनीति

गठबन्धनले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा गोरु नै लजायाे: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन्। 

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए। तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे।

भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गरे।

उनले भने, ‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर। तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले गर्‍यो। गोरु आँफै लजाउने। भ्रष्टचारको केश लाग्या छ, छानविन समिति आफ्नै बहुमत राखेर बनाएको छ। छानविन गर्न दिएकै छैन। छानवीन भएकै छैन। कल डिटेल्स हटाएको छ। अनि सिसीटिभी फुटेज मेटाइएको छ। रिभाईभ गर्दा देखिदैन, बुझिदैन। अनि सफाई पायो। कहाँबाट पायो सफाई ? कल डिटेल्स समेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरु। अनि फेरी अचम्मत के भने–लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको। नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? गोरु लजाउन्न क्यारे। तर गोरु पनि लजायो। यति निर्लज्ज तरिकाले हुन्छ ? फेरी उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरु मान्छैनै रहेनछ। कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले। हामीसँग बहुमत छ, जे गरेपनि हुन्छ। लाजसरम किन मान्ने, कसैलाई किन टेर्ने ? लोकलाज किन मान्ने ? काँग्रेसको भनाई। फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने।’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहोर्‍याउ। उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे। दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गरे। देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाई थियो। 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: १७ श्रावण २०७९ १२:४२ मंगलबार