राजनीति

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको हुन्छः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताएका छन्। सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन्। 

महामन्त्री शर्माले बदलिएको काँग्रेस र बलियो काँग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजानसक्ने समाज हामी बनाएर जान काँग्रेस सक्षम रहेको दाबी गरे। उनले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली काँग्रेस पार्टी सक्षम रहेको बताए। 

महामन्त्री शर्माले कलाकार राष्ट्रका गहना नभइ गौरव भएकोले यस्ता भनाइहरुमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने बताए। उनले नेपाल कहिल्यै पराजित भएको थिएन भन्ने इतिहास झुटो भएको भन्दै नेपाल पराधिन नभएको तर पराजित भएको पाठ बालबालिकालाई सिकाउन आवश्यक रहेको बताए। 

महामन्त्री शर्माले नेपाली समाजमा विश्वलाई पहिल्यै जितिसकेका छाैं, अब जित्नै पर्दैन भन्ने एक किसिमको संकुचित सोचको विकास भइरहेकोले कला, संस्कृति र साहित्यमार्फत हटाउन आवश्यक रहेको बताए। महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभइ बदलिने सोच राख्न जरुरी रहेको बताए।

प्रकाशित: ९ श्रावण २०७९ ११:१७ सोमबार