राजनीति

पेट्रोलियम पदार्थको मूल्य नघटाएकोमा संसदमा आपत्ति

फाइल तस्बिर।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकारले बेवास्ता गरेको आरोप लगाएको छ। बिहीबारको बैठकमा बोल्दै एमाले नेता प्रदीप ज्ञवालीले जनता मूल्य वृद्धि र महँगीको मारमा परेको भन्दै सरकारले यसबारे कुनै ध्यान नदिएको बताए।

उनले पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपाल आयाल निगमले मूल्य नघटाएको भन्दै मूल्य घटाउन माग गरे। पेट्रोलियम पदार्थको मूल्य बढ्दा तत्कालै बढाउने घट्दा घटाउन नखोज्ने प्रवृत्ति सरकारमा देखिएको भन्दै उनले यसले जनताको दैनिक जीवन सञ्चालनमा कठिनाइ भएको बताए। ‘पुस्तक नपाएर विद्यार्थी समस्यमा छन्, मल नपाएर किसान समस्यामा छन्, सरकारलाई हतियार किन्ने पैसा हुन्छ, तर मल किन्ने पैसा हुँदैन,’ उनले भने।

दैनिक उपभोग्य वस्तुको मूल्य बढेको, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको अवस्थामा मूल्य नियन्त्रणका लागि राहत दिने, सुपथ मूल्य पसल चलाउने, बजार अनुगमन र कारबाही गर्ने लगायतका उपाय तर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले आफूले महँगीका विषयमा बोलेको कुरालाई लिएर ट्रोल बनाएकोमा असन्तुष्टि जनाएका छन्। आफूले सार्वजनिक कार्यक्रममा महँगी बढेको विषय उठाउँदा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाएको उनले बताए।

गत साउन २ गते एमालेको उपभोक्ता हित संरक्षण विभागले गरेको कार्यक्रममा उनले मूल्य वृद्धि अचाक्ली बढेको औंल्याउँदै आफू पूर्वमन्त्री भए पनि घरमा दुईथरि तरकारी पकाएर खान सक्ने अवस्था नभएको बताएका थिए। तर त्यसपछि सामाजिक सञ्जालमा ज्ञवालीले एकजना आफन्तको घरमा खाना खाँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनीमाथि व्यंग्य गरिएको थियो। उनले यस विषयप्रति आपत्ति जनाउँदै उनले संसद्मा भने, ‘त्यसो गरेर उहाँहरूको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ।’

प्रकाशित: ६ श्रावण २०७९ ०३:२९ शुक्रबार

जनता मूल्य वृद्धि र महँगीको मारमा जनताका समस्याप्रति बेवास्ता