राजनीति

एमाले नेता ज्ञवालीले भनेः सरकार नालायक र गैर जिम्मेवार भयो

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महँगी नियन्त्रण र अभाव जस्ता गम्भिर समस्यामा सरकार तमासे समेत हुन पनि नसकेको आरोप लगाएका छन्।  

उनले सरकारले महँगी, सिन्डीकेट, कार्टेलिङका जस्ता गम्भिर समस्याहरु समेत सम्बोधन गर्न नसकेको उल्लेख गर्दैै सरकार नालायक भएको बताएका छन्।

बिहीबार संसद बैठकको बिशेष समयमा बोल्दै ज्ञवालीले खाद्यान्न, निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य विगत एक बर्षमा ह्वात्तै बढेको भन्दै महँगीको तथ्याङ पनि प्रस्तुत गरेका थिए।  

साठी प्रतिशत रोपाई सकिएको र नयाँ शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दा पनि कृषकको हातमा मल र विद्यार्थीहरुको हातमा पुस्तक नभएको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘यो जस्तो लज्जास्पद र नालायकीपन अरु के हुन सक्छ र?’  

ज्ञवालीले समस्या समाधानका धेरै उपायहरु हुँदाहुदैपनि सरकार जनताप्रति गैरजिम्मेवार र अनउत्तरदायी भएको आरोप लगाए। ‘मर्कामा परेका नागरिकलाई राहत दिन सकिन्छ। सुपथ मूल्यका पसल खोल्न सकिन्छ। बजार अनुगमन गर्न सकिन्छ। मुल्यवृद्धि गर्नेलाई कारवाही गर्न सकिन्छ’, उनले भने, ‘तर सरकार रमिते पनि हुन सकिरहेको छैन। अहिले सरकारनै छैन। यो हुनु र नहुनुको कुनै अर्थ नै छैन।’

ज्ञवालीले यो बिषयमा सभामुखले तत्काल गम्भिरता पुर्वक रुलिङ गर्नुपर्ने माग पनि राखे। ‘यो बिषयमा हामीले पटक पटक विशेष प्रस्ताव दर्ता गराएका छौं। तर यसमा कोही पनि गम्भिर भएका छैन। यसलाई बिषयान्तर गरिएको छ’, उनले भने।

प्रकाशित: ५ श्रावण २०७९ ०९:५९ बिहीबार