राजनीति

सांसद महेश बस्नेतका व्यंग्यात्मक प्रश्नः...खोजेर कारवाही गर्नुपर्ने होइन र?

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारका बेथितीहरु उल्लेख गर्दै तीसँग जोडिएका प्रधानमन्त्री, मन्त्री, नेतालगायतलाई ‘कारवाही गर्नुपर्ने होइन र?’ भन्दै व्यंग्यात्मक प्रश्नहरु गरेका छन्।

बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै उनले व्यग्यात्मक शैलीमा सबैलाई कारवाही गर्नुपर्ने माग राखेका हुन्। उनले आफ्नो भनाई यसरी राखे, ‘केही साथीहरू एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजिरहेका छन्। 

देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्य दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी केन्द्रका नेता पी दाहाल र नेतृ ए राना देउवालाई खोजेर कारवाही गर्नुपर्ने होइन र? बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दररेटहरु गडबड गरेर सीसीटिभीलगायतका प्रमाणहरु नष्ट गर्ने र कमिशन ६ अर्ब भन्दा बढि गडबडी गर्ने माओवादी नेता जी शर्मा खोजि गरेर कारवाही गर्नुपर्ने होइन र?’

बस्नेतले अगाडि भने, ‘पेट्रोलियम पदार्थको भाउ, महँगी र कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्ति मन्त्री कांग्रेस नेता डी बडुलाई कारवाही गर्नुपर्ने होइन र? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नूपर्ने होइन र? प्रधानन्यायधिसलाई महाभियोग लगाई प्रक्रिया अवरोध गरेर कामु खाइरहेका डी कार्कीहरुलाई कारवाही गर्नुपर्ने होइन र? एमसीसी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एम खड्कालगायतलाई कारवाही गर्नुपर्ने होइन र? प्रहरी प्रशासनमा अन्तरविरोध...।’ आफ्नो भनाई राख्दाराख्दै शून्य समय सकिएपछि उनी रोकिएका थिए।  

सत्तापक्ष गठबन्धन दलका नेता तथा विद्यार्थी संगठनहरुले गर्भनर महाप्रसाद अधिकारी नै एम अधिकारी हो भन्दै उनलाई खोजेर कारवाही माग राखिरहेका छन्। उनीहरले यही माग राखेर सदन र सडक तताएपछि त्यसको प्रतिउत्तरमा बस्नेतले यस्ता प्रश्नहरु राखेका हुन्।  

प्रकाशित: ५ श्रावण २०७९ ०९:०० बिहीबार