राजनीति

एजेण्डा मिल्ने पार्टीसंग गठबन्धन: उपसभापति खड्का

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एजेण्डा मिल्ने पार्टीलाई कांग्रेसलेसँगै लिएर जाने बताएका छन्। स्थानीय निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिको सम्मानका लागि कांग्रेस मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रममा उनले अधिनायकवाद, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेकाविरुद्ध गठबन्धन भएको स्मरण गरे। 

‘आफू जित्न वा कुनै पार्टीलाई हराउनका लागि मात्रै गठबन्धन भएको होइन। गठबन्धनको मर्म बुझ्न जरुरी छ। कांग्रेस वा शेरबहादुर देउवाले चाहेर मात्र भएको होइन’, उनले भने, ‘दुइतिहाई बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्यका लागि गठबन्धन बनेको हो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन हुनेछ।’ १२ बुँदे शान्ति सम्झौता पूरा नभएको उल्लेख गर्दै खड्काले शान्ति सम्झौतालाई पूर्णता दिन पनि माओवादीलाई साथमा लिनुपर्ने बताए।  

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई उनले जनताले सम्झने र जनताको मनमा लोभ जगाउने गरी काम गर्न अनुरोध गरे। पार्टीबाट जितेर गएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्न भुल्न नहुने उनको सुझाव थियो। स्वतन्त्र उम्मेदवारले जित्नु जनताले राजनीतिक दललाई सुध्रिनका लागि संकेत भएको उनको भनाई थियो। ‘स्वतन्त्रले जितेको विषयलाई ठूलो बनाउन पर्दैन, नजर अन्दाज गर्न पनि मिल्दैन। सचेत गराउन खोजे भनेर लिन जरुरी छ’, खड्काले भने। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने कांग्रेसको लक्ष्य रहेको सुनाउँदै उनले सोही अनुसार तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।  

यस्तै कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले अबको निर्वाचनमा प्रत्यक्षमै कम्तिमा एकतिहाइ महिला उम्मेदवार हुनुपर्ने दावी गरिन्। ‘स्थानीय निर्वाचनमा गठबन्धनका कारण धेरै स्थानीय तह जितेका छौं, कांग्रेसप्रति आकर्षण बढ्दो छ’, डीनाले भनिन्, ‘यसलाई जोगाउँदै मंसिरमा हुने चुनावको तयारीमा लाग्न जरुरी छ।’

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने धारणा राखे। गठबन्धनकै कारण मकवानपुरमा कांग्रेस पहिलो पार्टी बनेको उनको दावी थियो। ‘गठबन्धन आवश्यक छ। कम्युनिष्ट एकताको नाममा माओवादीले धोका दिँदैन भन्ने बिस्वास छ’, बानियाँले भने, ‘गठबन्धन हामीलाई आवश्यक छ, माओवादीलाई अनिवार्य छ। हामीसंग नगरे अर्कोसंग गठबन्धन गर्छ।’ कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसबाट स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो।

प्रकाशित: ४ श्रावण २०७९ ११:४६ बुधबार