राजनीति

गृहमन्त्रीले भाई मेयर भएको नगरपालिकामा प्रहरी ज्यादती गराएः खिमलाल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न माग गरेका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले डिएसपी ठगबहादुर केसीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्राएर पोखरीमा चोबलेको भन्दै आक्रोश पोखेका हुन।

नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए। उनले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे।गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो भाई मेयर भएको नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप लगाए।  

जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनको तर्क थियो। उक्त घटनाका सम्बन्धमा गृहमन्त्री खाँणले जवाफ दिनुपर्ने भट्टराईले माग राखे।  

उनले भने, ‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ। तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा। म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ। यही हो लोकतन्त्र?’  

भट्टराईले लोकतन्त्रमा पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको बताए। ‘गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ। गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ। अनि पुलिस लगाएर शासनको दम्भ देखाउने। अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ?’, उनले भने।

भट्टराईले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा पनि मागे। लोकतन्त्रको मुल्य, मान्यता र संसदीय परम्परा अनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उनको भनाई छ। प्रतिपक्ष दलबाट सभापति बनाउन उनले ध्यानाकर्षण गराए।  

उनले भने, ‘सार्वजनिक लेखा समितिको सभापतिको म तुरुन्त राजीनामाको माग गर्छु। मैले यो कुनै मैले एउटा विषय उठाउनको लागि उठाएको छैन। सार्वजनिक लेखा समितिको सभापति प्रतिनिधि सभाको, यो सुशासनको कुरा हो। भ्रष्टाचारमुक्त नेपाल बनाउने कुरा गर्छौ भने यो त्यो कुरा हो। जसले ढुकुटीको चाबी हातमा लिन्छ, उसैले हिसाव राख्ने। उसैले छानबिन गर्ने यस्तो हुन्छ ? लोकतन्त्रको मूल्यको कुरा हो यो?’  

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताए।  

उनले भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनी समेत दिए। भट्टराईले भने, ‘जुन मिटिङ बस्नुभयो र सामाजिक सञ्जालमा बाहिर जे सन्देश देशमा आएको छ, पदको बाँडफाँड त्यहाँ बसेर गरियो भन्ने कुरा छ। सत्ता गठबन्धन जोगाउने, कायम राख्ने अगाडी बढाउने र त्यसको साथमा पदको बाँडफाँड गरेर को राष्ट्रपति हुने? को प्रधानमन्त्री हुने ? कति समय को बस्ने ? त्यसपछि को बस्ने भन्ने खालको कुरा गरियो भन्ने खालका कुरा आएको छ। यो नहोस्। यस्तो कुरा हिजो राणाकालमा हामीले सुन्यौँ। तर यस्तो नहोस् अबको नेपालमा। यो लोकतन्त्र, गणतन्त्र हामीले यसको लागि ल्याएको होइन। विदेशी भूमीमा गएर सिटको बाँडफाँड गर्ने। पदको लागि चाकडी गर्ने। हामीले भिख मागेर पद, पदासीन हुनुभन्दा भिखारी नै भएर सडकमा हिँड्नु मजा हुन्छ। यस्तो कुराको सन्देश अहिले देशमा गइराखेको छ। यो दुःखदायी कुरा हो। यसले देशको लोकतन्त्रलाई बलियो बनाउँदैन।’

प्रकाशित: २ श्रावण २०७९ ११:४३ सोमबार